काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी प्रतिनिधि सभा निर्वाचनपछि दुई तिहाइको सरकार बन्ने दाबी गरेका छन् । रूपन्देही–१ मा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले देशमा निराशा फैलिएको भनिए पनि जनताको आँखामा आशा स्पष्ट देखिने बताएका हुन् । ‘मान्छेहरू भन्छन्—देशमा निराशा छ। तर म तपाईंहरूको आँखामा हेर्छु, आशा नै आशा छ। अब दुई तिहाइको सरकार बन्छ, कमसेकम बहुमतको सरकार बन्छ,’ उनले भने, ‘यो आशालाई जगाइराख्नुहोला।’
जनताको मनभित्र रहेको यही आशालाई थप सशक्त बनाउन आफू रूपन्देही आएको उनले बताए । सभापति लामिछानेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले इतिहास बदल्ने पनि दाबी गरे। ‘यसपटकको फागुन २१ केवल मिति होइन, इतिहास हो, कोसेढुंगा हो। त्यसका लागि सबै तयार रहनुहोला,’ उनले भने । फागुन २१ गते देशभर प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।





प्रतिक्रिया दिनुहोस्