Skip to content

दार्चुलामा एकैदिन दुई ठूला घटना, प्रहरी हवल्दारको हत्या आशंका र वृद्धाको हत्या गरी लुटपाट

 

दार्चुला – दार्चुलामा एकैदिन दुई वटा गम्भीर र दुःखद् घटनाले जिल्लावासीलाई स्तब्ध बनाएको छ। बंगाबगड क्षेत्रमा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको आशंका गरिएको छ भने शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको धारिलो हतियार प्रहार गरी हत्या गर्दै लुटपाट गरिएको छ । दार्चुलामा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्ती मृत अवस्थामा फेला परेपछि घटनाबारे हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। घटनाको यथार्थ कारण खुल्न बाँकी रहेको र पोष्टमार्टम तथा प्रारम्भिक अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जनाइएको छ । यस्तै, शैल्यशिखर नगरपालिका–८ झरकाँडा देवलमा गएराति ७१ वर्षीया लक्ष्मी जोशीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार जोशीको हत्या गरी घरभित्र लुटपाटसमेत गरिएको पाइएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाइएको छ । एकैदिन भएका यी दुई गम्भीर घटनापछि जिल्लामा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयवासी त्रसित बनेका छन् । प्रहरीले दुवै घटनालाई उच्च प्राथमिकतामा राखी दोषी पहिचान र पक्राउका लागि अनुसन्धान तीव्र बनाएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्