दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिका जिल्लामै कार्यसम्पादन मूल्यांकनमा प्रथम बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकन अनुसार अपिहिमाल गाउँपालिका जिल्लामै पहिलो र सुदूरपश्चिम प्रदेशमा दोस्रो स्थानमा परेको हो । जिल्लाकै सबैभन्दा विकट पालिकामध्ये एक मानिने अपिहिमाल गाउँपालिकाले कुल ७६.१४ अंक प्राप्त गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको आयोगले जनाएको छ । विपरीत रूपमा जिल्लाकै सबैभन्दा कमजोर कार्यसम्पादन गर्ने पालिकाका रूपमा व्याँस गाउँपालिका देखिएको छ । व्याँसले जम्मा ३७.८५ प्रतिशत अंक मात्रै हासिल गरेको छ । कार्यसम्पादन मूल्यांकनमा मार्मा गाउँपालिका ६५.६२ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी महाकाली नगरपालिका ५९.६३ अंकसहित तेस्रो, लेकम गाउँपालिका ५८.३९ अंकसहित चौथो र नौगाड गाउँपालिका ५७.८० अंकसहित पाँचौँ स्थानमा पुगेका छन् । यस्तै, मालिकार्जुन गाउँपालिका ५७.१६ अंकसहित छैटौँ, दुहुँ गाउँपालिका ५७.४९ अंकसहित सातौँ र शैल्यशिखर नगरपालिका ४६.५२ अंकसहित आठौँ स्थानमा सीमित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सेवा प्रवाह, वित्तीय अनुशासन, सुशासन, योजना कार्यान्वयनलगायतका सूचकका आधारमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ । यस मूल्यांकनले स्थानीय तहहरूबीच प्रतिस्पर्धा बढ्नुका साथै सेवा सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्