Skip to content

जनयुद्धकालीन जस्तै उत्प्रेरणा र नयाँ ऊर्जासहित अब अघि बढ्ने छौं : प्रचण्ड

रुकुम पूर्व — पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प व्यक्त गरेका छन् ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजकसमेत रहेका उनले १० वर्षे सशस्त्र युद्ध सुरु गरिएको भूमि रुकुम पूर्वबाट शुभकामना सन्देश दिँदै नयाँ ऊर्जा र उत्प्रेरणासहित अघि बढ्ने बताएका हुन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २०५२ साल फागुन १ गते रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा आक्रमण गर्दै सशस्त्र युद्ध सुरु गरेको थियो। उक्त युद्धलाई माओवादीले ‘जनयुद्ध’ नाम दिएको थियो ।

यस वर्षको ‘जनयुद्ध दिवस’ आफूका लागि विशेष रहेको उल्लेख गर्दै प्रचण्डले रुकुम पुग्दा भावुक र उद्वेलित भएको बताए । जनयुद्धकालीन जस्तै उत्प्रेरणा र नयाँ ऊर्जासहित अब अघि बढ्ने उनले स्पष्ट पारे । जनयुद्धमा रुकुमेली जनताको योगदान स्मरण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिब, महिला तथा आदिवासी जनजातिको निर्णायक भूमिकाले सम्भव भएको बताए। ती समुदायले रगत नबगाएको भए समावेशी र समानुपातिक गणतन्त्र सम्भव नहुने उनको भनाइ थियो । प्रचण्डले राष्ट्रको वर्तमान परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै २०८४ सालमा गर्ने भनिएको निर्वाचन २०८२ सालमै गर्नुपर्ने अवस्था सिर्जना भएको धारणा राखे। देश कठिन मोडबाट अघि बढिरहेको बताउँदै उनले इतिहासका प्रेरणाबाट शिक्षा लिँदै राष्ट्र र राष्ट्रियताको पक्षमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्पका रूपमा यस अवसरलाई लिएको उल्लेख गर्दै उनले जनयुद्धकालीन दृढता र प्रतिबद्धतासहित नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्