Skip to content

बिहानैदेखि काठमाडौंमा सुरक्षा सतर्कता

काठमाडौं — राजावादी समूहको सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै शुक्रबार बिहानैदेखि काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले मुख्य सडक, चोक तथा संवेदनशील स्थानहरूमा अतिरिक्त गस्ती परिचालन गरेको जनाएको छ ।प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार नियमित ड्युटीमा खटिने प्रहरी टोलीसँगै थप सुरक्षाकर्मी स्ट्याण्डबाइ राखिएको छ । विभिन्न सडक, चोक र गल्लीमा हुनसक्ने अराजकतापूर्ण गतिविधिप्रति सचेत रहँदै सुरक्षा व्यवस्थालाई कडा बनाइएको उनले बताए ।

राजावादी समूहले दिउँसो १२ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुग्ने कार्यक्रम तय गरेपछि स्वागतका नाममा भीड जम्मा हुन सक्ने आकलन गरिएको छ। सोही कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनलमा समेत सुरक्षा व्यवस्था सुदृढ गरिएको छ । विमानस्थल प्रवेश गर्ने यात्रु तथा सर्वसाधारणमाथि बिहानैदेखि कडाइका साथ चेकजाँच गरिएको छ। विमानस्थल सुरक्षा प्रमुख एसएसपी वसन्त रजौरेले चेकजाँच नियमित प्रक्रियाअनुसार भए पनि सतर्कता भने बढाइएको जानकारी दिए ।

काठमाडौं उपत्यकास्थित प्रहरीका विभिन्न गण, गुल्म तथा अन्य इकाइका टोलीलाई पनि तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ। आवश्यक परे तुरुन्त परिचालन गर्न सकिने गरी थप मद्दत टोली तयारी अवस्थामा रहेको प्रवक्ता भट्टराईले बताए ।  सम्भावित प्रदर्शनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाकर्मीले समन्वयात्मक रूपमा निगरानी र गस्ती तीव्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्