Skip to content

विभिन्न क्षेत्रका पेसाकर्मीलाई पार्टीमा आबद्ध हुन कांग्रेसले गर्‍यो आह्वान

काठमाडौँ – नेपाली कांग्रेसले विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ । प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ती जारी गरी बदलिएको राजनीतिक सन्दर्भमा विभिन्न पेशा र क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई पार्टीमा औपचारिक रूपमा कांग्रेसमा सहभागी हुन आह्वान गरेको छ । सभापति गगन थापाको नेतृत्वमा कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको कांग्रेसले जनाएको छ । ‘यस ऐतिहासिक संक्रमणको घडीमा, वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने, समाजका विभिन्न प्रतिष्ठित पेसा—चिकित्सा, शिक्षा, कानून, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाजका क्षेत्रमा सक्रिय भई राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न चाहनु हुने सम्पूर्ण महानुभावहरूलाई नेपाली कांग्रेसमा आबद्ध हुन हार्दिक आह्वान गर्दछौं,’ कांग्रेसले भनेको छ । उसले देश र लोकतन्त्र सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तिहरुको सहभागिता अनिवार्य रहेको विश्वास व्यक्ति गरेको छ ।

साथै कांग्रेस विचार, विवेक र प्रतिबद्धताको संगम भएको लोकतान्त्रिक मंच भएकाले व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्यलाई प्राथमिकता दिइने र पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई अवलम्बन गरिने उसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्