काठमाडौं । काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा १०औँ ‘अर्किड कप’ सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको आज भव्य उद्घाटनसँगै औपचारिक रूपमा सुरुवात गरिएको छ । प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि नेपालको वर्तमान राष्ट्रिय गानका रचनाकार प्रदीप राई रहेका थिए । उद्घाटन सत्रको सभाध्यक्ष विद्यालयका संस्थापक तथा सञ्चालक प्रेमकुमार भुजेल ले गरेका थिए । कार्यक्रममा नेसनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृत खड्का, उपाध्यक्षहरू, सहसचिव प्राप्ति मल्ल, नेरिक एकेडेमीका प्रिन्सिपल मिलन केसी, विश्वज्ञान पाठशालाका प्रिन्सिपल मातृका कार्की लगायत विभिन्न विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उद्घाटनसत्रमा बोल्दै प्रमुख अतिथि राईले खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य र नेतृत्व विकास गराउने उल्लेख गर्दै भने, “पढाइसँगै खेलकुद पनि उत्तिकै महत्वपूर्ण छ । यस्ता प्रतियोगिताले बालबालिकाको आत्मविश्वास बढाउँछ र उनीहरूलाई भविष्यका जिम्मेवार नागरिक बन्न प्रेरित गर्छ।” उनले विद्यालय तहबाटै खेलकुद संस्कृतिको विकास हुनुपर्नेमा जोड दिए । सभाध्यक्ष भुजेलले विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै भने, “विद्यार्थीको चौतर्फी विकास हाम्रो मुख्य उद्देश्य हो । ‘अर्किड कप’ त्यही लक्ष्यका साथ निरन्तर आयोजना हुँदै आएको कार्यक्रम हो । खेलकुदमार्फत बालबालिकामा प्रतिस्पर्धात्मक भावना, अनुशासन र टिमवर्क विकास हुन्छ ।” उनले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र व्यापक बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।
हरेक वर्ष आयोजना हुँदै आएको ‘अर्किड कप’को यो १०औँ संस्करण हो । प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत तथा १३ वर्ष उमेर ननाघेका (२०६९ साल माघ २६ गतेपछि जन्मिएका) विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । प्रतियोगिताका सबै खेलहरू काठमाडौंको गोठाटारस्थित विद्यालयको आफ्नै मैदानमा सञ्चालन हुनेछन् । यस वर्ष प्रतियोगितामा ४६ वटा विद्यालय सहभागी रहेका छन्, जसले प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाउने विश्वास आयोजकको छ । प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टिमहरूले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कृत गरिनेछ । संस्थापक भुजेलले शिक्षासँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको चौतर्फी विकास गर्ने उद्देश्यले विद्यालयले नियमित रूपमा खेलकुद तथा अन्य गतिविधि सञ्चालन गर्दै आएको बताए। ‘अर्किड कप’ त्यही प्रतिबद्धताको निरन्तरता भएको उनको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्