Skip to content

भारतीय प्रधानमन्त्री मादी सवार विमान सडकमा अवतरण, पूर्वोत्तर भारतमै पहिलो ‘इमरजेन्सी ल्यान्डिङ फेसिलिटी’ सञ्चालनमा

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान आसाम राज्यको डिब्रुगढस्थित सडकमा अवतरण गरेको छ । भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान शुक्रबार मोरान बाइपास सडकमा अवतरण गरिएको हो । भारतीय सञ्चारमाध्यमहरूले यसलाई ‘ऐतिहासिक क्षण’का रूपमा वर्णन गरेका छन्। कारण, पूर्वोत्तर भारतमा हवाई जहाज अवतरण गर्न मिल्ने सुविधायुक्त राजमार्ग पहिलोपटक सञ्चालनमा आएको हो । प्रधानमन्त्री मोदी १४ फेब्रुअरीमा चाबुवा हवाई अड्डाबाट उडान भरेर आसामको डिब्रुगढस्थित मोरान बाइपास सडकमा अवतरण गरेका थिए । करिब १०० करोड भारतीय रुपैयाँ लागतमा निर्माण गरिएको इमरजेन्सी ल्यान्डिङ फेसिलिटी (ईएलएफ)युक्त उक्त सडक करिब साढे चार किलोमिटर लामो छ । यसलाई भारतीय वायुसेनाका लडाकु तथा यातायात विमानका लागि रणनीतिक तथा बहुउद्देश्यीय पूर्वाधारका रूपमा विकास गरिएको हो ।

इमरजेन्सी ल्यान्डिङ फेसिलिटी भनेको के हो?

इमरजेन्सी ल्यान्डिङ फेसिलिटी (ईएलएफ) भनेको कुनै राष्ट्रिय वा राज्य राजमार्गमा निर्माण गरिने विशेष खालको एयरस्ट्रिप हो, जहाँ आपत्कालीन अवस्थामा वायुसेनाका लडाकु तथा अन्य विमान अवतरण गर्न सक्छन्। सामान्य अवस्थामा त्यहाँ सवारीसाधन सञ्चालन हुन्छ, तर आवश्यक पर्दा सडकलाई विमानस्थलको रन–वेको रूपमा प्रयोग गर्न सकिन्छ। यसले आपत्कालीन परिस्थितिमा वैकल्पिक विमानस्थलको भूमिका निर्वाह गर्छ । आसामको मोरान बाइपासमा निर्माण गरिएको ईएलएफ एयरस्ट्रिप चीनसँग नजिकको क्षेत्रमा पर्छ। त्यसैले पूर्वोत्तर भारतको सुरक्षालाई थप मजबुती दिने अपेक्षा गरिएको छ ।

रणनीतिक तथा विपद् व्यवस्थापनमा उपयोगी

युद्ध वा सुरक्षा चुनौतीको अवस्थामा यस्ता संरचनाको आवश्यकता अझ बढ्छ। मुख्य हवाई अड्डा वा एयर बेस शत्रुको निशानामा परेमा विकल्पका रूपमा यस्ता सडक प्रयोग गर्न सकिन्छ। कुनै लडाकु विमान आकस्मिक अवस्थामा परेमा टाढाको बेससम्म पुग्नुपर्ने अवस्थाको सट्टा नजिकैको सडक–एयरस्ट्रिपमा सुरक्षित अवतरण गर्न सक्ने सुविधा मिल्छ । यसका साथै रक्षा सामग्री ढुवानी, खाद्यान्न आपूर्ति तथा विपद् राहत कार्यमा पनि यस्तो संरचना प्रभावकारी मानिन्छ । भारत सरकारले राजस्थान, उत्तर प्रदेश, तमिलनाडु लगायतका स्थानमा समेत यस्ता विशेष सडक निर्माण गरिसकेको छ। आसामको मोरान ईएलएफ पूर्वोत्तर क्षेत्रकै पहिलो परियोजना हो । भारतमा पहिलो इमरजेन्सी ल्यान्डिङ फेसिलिटी स्ट्रिप ९ सेप्टेम्बर २०२१ मा राजस्थानको बाडमेर–जालोर राजमार्ग (एनएच–९२५ए) मा उद्घाटन गरिएको थियो। त्यस अवसरमा भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान सोही राजमार्गमा अवतरण गरिएको थियो । भारतीय सञ्चारमाध्यम दैनिक भास्कर का अनुसार भारत सरकारले देशभर २८ वटा यस्ता इमरजेन्सी ल्यान्डिङ फेसिलिटीयुक्त सडक निर्माण गर्ने योजना अघि बढाएको छ। चीनसँग सिमाना जोडिएको पूर्वोत्तर क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै आसाममै कम्तीमा पाँच वटा यस्ता सडक निर्माण गर्ने योजना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्