Skip to content

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला आज देखि सुरु : धार्मिक, र व्यापारिक दृष्टिकोणले प्रशिद्ध

दार्चुला – शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा महाशिवरात्रिको अवसरमा ऐतिहासिक गोकुलेश्वर मेला आज देखि सुरु भएको छ । झण्डै नौँ दशक लामो सांस्कृतिक विरासत बोकेको यो मेला धार्मिक आस्था र व्यापारिक गतिविधिका कारण प्रसिद्ध मानिन्छ । शिवरात्रिदेखि सुरु हुने एक साता लामो मेलामा जडिबुटी, निगाँलोका डोका–मट्टा, धातुका भाँडाकुँडा, फलामका हँसिया–कोदाली, स्थानीय उत्पादन, लत्ताकपडा तथा भारतबाट ल्याइने मिठाइ लगायत सामग्रीको किनबेच हुन्छ । व्याँसी शौका समुदाय र अपिहिमाल क्षेत्रका व्यापारीले पनि आफ्ना उत्पादन बिक्रीका लागि मेला भरेका छन् । दार्चुलासहित बैतडी, बझाङ, डडेल्धुरा र भारतका विभिन्न स्थानबाट हजारौँ दर्शक–भक्तजन सहभागी भएका छन् । विक्रम संवत् १९९७ सालमा समाजसेवी लक्ष्मण विष्टले सुरु गरेको मेला प्रारम्भमा सामान्य भीडबाट सुरु भई अहिले ठूलो बजारका रूपमा विकास भएको स्थानीय बुढापाकाको भनाइ छ । पछिल्ला दशकमा लाखौँको कारोबार हुँदै आएको यो मेलाको संरक्षणमा सबै पक्षले चासो दिनुपर्ने सरोकारवालाको भनाइ छ । यसैबीच, महाशिवरात्रि पर्व आज देशभर भगवान शिवको पूजा–आराधनासहित मनाइँदैछ। पशुपतिनाथ मन्दिर लगायत विभिन्न शिवालयमा भक्तजनको भीड लागेको छ। सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्