सिन्धुपाल्चोक – भौगोलिक रूपमा विकट, पहाडी र दुर्गम मानिने हेलम्बु गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा उल्लेखनीय सफलता हासिल गर्दै देशकै ठूला सहरलाई पछि पारेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार हेलम्बुले ६२.९२ प्रतिशत अंक प्राप्त गरेको छ । आयोगको तथ्यांकअनुसार काठमाडौं महानगरपालिकाले ४४.९७ प्रतिशत र धरान उपमहानगरपालिकाले ४९.७६ प्रतिशत अंक प्राप्त गरेका छन्। यससँगै सधैं चर्चामा रहने ठूला पालिकाभन्दा दुर्गम गाउँपालिकाले उत्कृष्ट अंक ल्याएको तथ्यले स्थानीय तहको कार्यकुशलताबारे नयाँ बहस सुरु गराएको छ । सीमित आन्तरिक स्रोत, कठिन भूगोल र पूर्वाधार चुनौती हुँदाहुँदै पनि जनसेवा प्रवाह, पारदर्शिता र सुशासनमा देखिएको प्रतिबद्धताले सफलता सम्भव भएको स्थानीयको भनाइ छ ।
गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा ले यो उपलब्धि सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय र आम हेलम्बुबासीको साझा मिहिनेतको परिणाम भएको बताए । “हामीले सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, त्यसकै प्रतिफल यो नतिजा हो,” उनले भने । दुर्गम भूगोल हुँदाहुँदै उत्कृष्ट कार्यसम्पादन अंक हासिल गर्नुले हेलम्बु गाउँपालिका अन्य स्थानीय तहका लागि उदाहरणीय बनेको छ ।





प्रतिक्रिया दिनुहोस्