Skip to content

गगन थापाको डिजिटल सपना : पाँच वर्षमै ४ खर्बको आईटी निर्यात लक्ष्य

काठमाडौं – गगन थापाले नेपाललाई आगामी पाँच वर्षभित्र ‘डिजिटल हब’ बनाउने महत्वाकांक्षी खाका सार्वजनिक गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधि क्षेत्रमा थोरै तर नीतिगत सुधारले पनि ठूलो उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे । केही समयअघि कीर्तिपुरमा आयोजित एक सभामा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा र ट्रोल बनेको प्रसंग उल्लेख गर्दै थापाले उक्त भनाइ हावादारी नभई योजनाबद्ध सोचको अंश भएको स्पष्ट पारे । उनले अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत गरिएका साना नीतिगत सुधारले समेत सकारात्मक परिणाम दिएको उदाहरण दिँदै अब थप व्यवस्थित र दीर्घकालीन नीति आवश्यक रहेको बताए । थापाले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ का रूपमा अघि बढाउने लक्ष्य राखेको जानकारी दिँदै पाँच वर्षभित्र करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्न सकिने दाबी गरे । उनका अनुसार उक्त अवधिमा २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने र ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य राखिएको छ । योजना सफल बनाउन स्थिर कर नीति अवलम्बन, सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादनका लागि ‘ट्यालेन्ट हब’ निर्माण तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्राथमिकता दिने रणनीति अघि सारिएको उनले बताए ।

उनले अब नेपाल केवल फ्रिल्यान्सिङ र बीपीओ सेवामा सीमित नभई आफ्नै डिजिटल उत्पादन निर्माण र निर्याततर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । साथै, सरकारले स्वदेशी प्रविधि र डिजिटल उत्पादनलाई प्राथमिकताका साथ प्रयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । थापाको यो घोषणालाई नेपालमा सूचना प्रविधि क्षेत्रको दीर्घकालीन रूपान्तरणतर्फको महत्वाकांक्षी पहलका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्