Skip to content

दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री हुन नपाउने व्यवस्था गर्छौँ : विश्वप्रकाश शर्मा

लमजुङ –  विश्वप्रकाश शर्माले बदलिएको नेपाली कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् । लमजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले सत्तामा एउटै व्यक्ति निरन्तर बसिरहने परम्परा अन्त्य गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। उनले नेतृत्वमा नयाँ संस्कार स्थापित गर्ने गरी पार्टी अघि बढेको दाबी गरे । उनका अनुसार कांग्रेसले संविधानमै कार्यकारी पदको कार्यकाल सीमित गर्ने नीति अघि सार्नेछ। अब उप्रान्त कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री वा मुख्यमन्त्री बन्न नपाउने व्यवस्था गरिने उनको भनाइ थियो। यसले सत्ता केन्द्रीकरण रोकेर लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उनले उल्लेख गरे । शर्माले चुनावी अभियानका क्रममा प्रतिद्वन्द्वीमाथि गालीगलौज नगर्न कार्यकर्तालाई आग्रह गरे । स्वस्थ आलोचना लोकतन्त्रको स्वाभाविक अभ्यास भए पनि आपसी आरोप–प्रत्यारोप र अपमानजनक भाषाले राजनीतिलाई स्वस्थ बनाउन नसक्ने उनले बताए । चुनाव जित्ने नाममा अव्यावहारिक आश्वासन बाँडेर पछि निराशा सिर्जना गर्ने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाइ थियो । देशको शासन प्रणालीमा आवश्यक सुधार गर्न आफूहरू गम्भीर रूपमा लागिपरेको उल्लेख गर्दै उनले नयाँ पुस्ताको विद्रोही चेतना र परिवर्तनको आकांक्षाअनुसार कांग्रेस रुपान्तरण भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्