Skip to content

गोठाटारमा जारी ‘अर्किड कप’ मा ७ खेल सम्पन्न

काठमाडौँको गोठाटारमा जारी ‘अर्किड कप’ विद्यालय स्तरीय फुटबल प्रतियोगिता फागुन १ गतेदेखि सञ्चालनमा रहेको छ र फागुन १० गतेसम्म जारी रहनेछ। प्रतियोगिताको तेस्रो दिन उत्साह, ऊर्जा र प्रतिस्पर्धाले भरिएको रह्यो। दिनभर भएका आठ खेलमा फराकिला जित, प्रतिस्पर्धात्मक बराबरी र पेनाल्टी सुटआउटले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्‍यो।

तेस्रो दिनको पहिलो खेल (म्याच नं. ८) मा नेपाल ताराले पिसपोइन्टविरुद्ध आक्रामक खेल प्रस्तुत गर्दै ७–० को प्रभावशाली जित निकाल्यो। सुरुदेखि नै आक्रमणमा देखिएको नेपाल ताराका सरोज रिमाल उत्कृष्ट प्रदर्शनका कारण ‘म्यान अफ द म्याच’ घोषित भए।

म्याच नं. ९ मा निर्मल ज्योति र गणेश हिमालबीच कडा प्रतिस्पर्धा भयो। निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो। रोमाञ्चक सुटआउटमा निर्मल ज्योति ३–२ ले विजयी बन्यो। हार व्यहोरे पनि गणेश हिमालका बिषेश तामाङको प्रदर्शन प्रभावशाली रहँदा उनी ‘म्यान अफ द म्याच’ चुनिए।

म्याच नं. १० मा विद्या विकासले सगरमाथा गुरुकुलमाथि ४–१ को सशक्त जित निकाल्दै आफ्नो दाबेदारी प्रस्तुत गर्‍यो। खेलमा उत्कृष्ट तालमेल देखाएका गिरीशान्त लम्साल ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यसैगरी, म्याच नं. ११ मा कसमिक र गोल्डेन बडबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकियो। पेनाल्टी सुटआउटमा कसमिक ४–३ ले विजयी बन्यो। उत्कृष्ट व्यक्तिगत प्रदर्शनका लागि गोल्डेन बडका निरज सार्की ‘म्यान अफ द म्याच’ घोषित भए।

म्याच नं. १२ मा लर्ड लाइट एकेडेमीले बाल गेटागाजीलाई ३–० ले पराजित गर्दै सहज जित दर्ता गर्‍यो। फरहान सिद्दिकी खेलका उत्कृष्ट खेलाडी घोषित भए।

म्याच नं. १३ मा बेस्ट ग्रुपले भक्तपुर मोडर्न स्कुललाई ३–१ ले हरायो। हारका बाबजुद भक्तपुर मोडर्न स्कुलका सरोज उप्रेतीको प्रदर्शन प्रशंसनीय रहँदा उनी ‘म्यान अफ द म्याच’ चुनिए।

म्याच नं. १४ मा मोनास्टिकले सी.भी.एम.लाई ४–० ले पराजित गर्दै प्रभावशाली प्रदर्शन गर्‍यो। यद्यपि सी.भी.एम.का अमोल चौलागाईं ‘म्यान अफ द म्याच’ घोषित भए।

दिनको अन्तिम खेल (म्याच नं. १५) मा लाइसियमले बिश्वज्ञान स्कुललाई ३–० ले पराजित गर्‍यो। बिश्वज्ञान स्कुलका श्रेयांशु प्रसाई उत्कृष्ट खेल प्रदर्शनका कारण ‘म्यान अफ द म्याच’ घोषित भए।

समग्रमा, प्रतियोगितामा सहभागी टोलीहरूले उत्कृष्ट टिमवर्क, अनुशासन र खेलभावना प्रस्तुत गरेका छन्। नकआउट चरण नजिकिँदै जाँदा प्रतिस्पर्धा अझ तीव्र बन्दै गएको छ। फागुन १० गते हुने फाइनल खेलतर्फ सबैको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया दिनुहोस्