Skip to content

रास्वपा मधेस सभापति ममता शर्माले त्यागिन् पार्टी

काठमाडौँ – रास्वपा मधेस सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गरेकी छन् । रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी हुन् ।

‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु’, उनले राजीनामा पत्रमा भनेकी छिन् । शर्माले थप भनेकी छिन्–’सङ्गठनमा दिनरात खटिएका क्षमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्याङ्कन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरू माथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु। त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु।’

शर्मा बाराकी हुन् । उनी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति हुन् । यसपालि टिकट पाउने आशामा रहेकी उनले अन्तिम समयमा टिकट नपाएपछि असन्तुष्ट रहँदै आएकी थिइन् । समानुपातिकमा पनि ममताले निवेदन दिएकी थिइन् । उनले प्राइमरी निर्वाचनबाट तेस्रो नम्बरमा नाम निकाल्न सफल भएकी थिइन्, तर लिस्ट बनाउँदा पार्टीले उनको नाम सात नम्बरमा पुर्‍याएको थियो, त्यसपछि उनले समानुपातिकमा बस्न अस्वीकार गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्