काठमाडौँ । विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलहरूमा विभिन्न विद्यालयले प्रभावशाली प्रदर्शन गर्दै जीत हात पारेका छन् । यस वर्ष प्रतियोगितामा ४६ वटा विद्यालय सहभागी रहेकाले प्रतिस्पर्धा झन् रोमाञ्चक बन्दै गएको आयोजकले जनाएको छ । विद्यावाणी र नेशनल ब्लमिङबीच भएको खेलमा विद्यावाणीले २–० गोल अन्तरले जित दर्ता गर्यो। उत्कृष्ट खेल प्रदर्शन गरेका नेशनल ब्लमिङका सुप्रभ श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । त्यस्तै कस्तुप एकेडेमी र हाइसेसबीच भएको खेलमा कस्तुपले ३–० को सहज जित निकाल्यो। हारका बाबजुद हाइसेसका विशला नेपालीको व्यक्तिगत प्रदर्शन प्रभावशाली रहँदा उनी ‘म्यान अफ द म्याच’ घोषित भए । ब्रह्मकुञ्ज र विद्या विकासबीच भएको प्रतिस्पर्धात्मक खेलमा विद्या विकास २–१ गोलले विजयी भयो। ब्रह्मकुञ्जका क्रीशीभ ढकाल उत्कृष्ट प्रदर्शनका कारण ‘म्यान अफ द म्याच’ चुनिए । नेक्सस इन्टरनेशनल स्कुल र गेटवे एकेडेमीबीच भएको खेलमा गेटवे ३–१ गोल अन्तरले विजयी भयो। नेक्ससका विराज ‘म्यान अफ द म्याच’ घोषित भए ।
यसैगरी, ग्रीनवीच स्कुल र कस्मिक स्कुलबीच भएको खेलमा ग्रीनवीच १–० गोल अन्तरले जित निकाल्न सफल भयो । कस्मिकका नयन शंकर उत्कृष्ट प्रदर्शनका लागि ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरूले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । फागुन १० गते हुने फाइनल खेलसँगै प्रतियोगिताको औपचारिक समापन हुने आयोजकले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्