काभ्रेपलाञ्चोक – प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नं. २ मा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का उम्मेदवार राजन थापाले आत्मनिर्भर, उत्पादनमुखी र अवसरयुक्त काभ्रेपलाञ्चोक निर्माणलाई मूल एजेन्डा बनाउँदै चुनावी अभियानलाई तीव्रता दिएका छन् । घरदैलो भेटघाट, टोल–सभा तथा संवाद कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्दै थापाले सरल, सहज र सबैलाई समेट्ने राजनीतिक संस्कारको आवश्यकता औँल्याएका छन्। देशले भोगिरहेका आर्थिक तथा सामाजिक चुनौती समाधानका लागि टकराव होइन, सहकार्य र संवादमुखी राजनीतिलाई अघि बढाउनुपर्ने उनको धारणा छ । अभियानका क्रममा उनले रोजगारीको अभाव, कमजोर स्वास्थ्य सेवा र स्थानीय उत्पादनको बजार सुनिश्चितता नेपालको प्रमुख समस्या भएको बताए। “गाउँ–ठाउँमै रोजगारी सिर्जना गर्न सके युवाहरू विदेशिन बाध्य हुँदैनन्,” थापाले भने, “स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति र स्थायी बजार सुनिश्चित गर्न सके अर्थतन्त्र मजबुत बन्छ ।”
पर्यटन व्यवसायमा लामो अनुभव बोकेका थापाले जिल्लाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र धार्मिक स्थललाई व्यवस्थित तथा दिगो रूपमा विकास गर्न सके काभ्रेपलाञ्चोकलाई समृद्धिको केन्द्रका रूपमा स्थापित गर्न सकिने बताए। उनका अनुसार दिगो पर्यटन विकासले रोजगारी, उद्यमशीलता र स्थानीय उत्पादनलाई एकसाथ अघि बढाउने आधार तयार गर्छ । समाजसेवाबाट राजनीतिमा आएका थापाले आफू शालीन, सरल र समाधानमुखी राजनीतिमा विश्वास गर्ने उल्लेख गर्दै सबै वर्ग, समुदाय र पुस्तालाई समेटेर विकासको यात्रामा अघि बढ्ने प्रतिबद्धता जनाए। काभ्रेपलाञ्चोक क्षेत्र नं. २ लाई अवसरको केन्द्र बनाउने लक्ष्यसहित उनले मतदातासँग समर्थन मागिरहेका छन् ।





प्रतिक्रिया दिनुहोस्