काठमाडौँ – उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक एवं दिगो व्यवस्थापन अध्ययन तथा समन्वय समिति गठन गर्ने, सार्वजनिक यातायात सञ्चालनको दिगोपनाका लागि यस अघिका अध्ययन प्रतिवेदनहरुको तथ्य र शिफारिस विश्लेषण गरेर उपयुक्त ढाँचामा नेपाल सरकारसँग सहकार्य गर्ने उपत्यका मेयर्स फोरमको बैठकले निर्णय गरेको छ । फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समितिले फोहर व्यवस्थापनको विधि तथा प्रविधि अध्ययन गर्नुका अतिरिक्त सवै स्थानीय तहका बिचमा आवश्यकता अनुसार समन्वय, सहजीकरण र सामुहिक व्यवस्थापनका लागि आवश्यक काम गर्नेछ । बुधबार काठमाडौँमा फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको १३ औँ बैठकले, गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेन सम्बन्धी कानुन निर्माण गरी गुरु योजना बनाउने, पूर्वाधार निर्माण र सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ । उपत्यकाको एकीकृत विकास गरेर नागरिक जीवन सहजताका लागि सहकार्य र समन्वय गर्नु पर्ने धेरै काम छन् । फोरमको अहिलेको दृष्टि त्यसैमा छ । बैठकपछि फोरमका अध्यक्ष महर्जनले, मेट्रोको अवधारणा कार्यान्वयन संघ सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तहहरु तत्पर रहेको उल्लेख गर्दै मेट्रोको अवधारणा अनुसार पूर्वाधार निर्माण तथा सञ्चालन गर्न लाग्ने समयमा पनि सहज सार्वजनिक यातायातका साधन सञ्चालनमा आफूहरु तयार रहेको बताउनुभयो ।
बैठकमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल, वस्तीको मौलिकता, सांस्कृतिक तथा सामाजिक चालचलन सुहाउँदो ढाँचाको उपयुक्त माधयमको छनोट गरी पूर्वाधार निर्माण गर्न नेपाल सरकारसँग सहकार्य गर्नुपर्ने बताउनुभयो । यसअघि सार्वजनिक यातायात प्रणालीका विषयमा धेरै अध्ययन भएका तीमध्ये कुन उपयुक्त छन् भन्ने कुराको ठोस निष्कर्षमा पुग्न विगतका अध्ययनहरुको पुनरावलोकन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । ‘समस्याहरु सीमाविहिन छन् । ती समस्यालाई प्रशासनिक साँधमा अडिएर आफ्नो भन्नु भन्दा पनि उपत्यकाका स्थानीय तहहरुको सहअस्तित्व स्वीकार गरेर समन्वयात्मक रुपमा सहकार्य गरेपछि नतिजा आउँछ ।’ डंगोलले बताउनुभयो ।
उपत्यकामा सार्वजनिक यातायात सञ्चालनका यस अघि गरिएको अध्ययन प्रतिवेदनको विश्लेषण र उपत्यका सुहाउँदो ढाँचाका विषयमा आगामी बैठकमा पेश गरिने अध्यक्ष महर्जनले जानकारी दिनुभयो । फोहर व्यवस्थापन, सार्वजनिक यातायात सञ्चालन, खानेपानी वितरण तथा नदी सभ्यताको संरक्षण, खाद्य स्वच्छता, विपद व्यवस्थापन, जलबायु परिवर्तनका असर कम गराउने सीमाविहिन समस्या हुन्, यी समस्या सुल्झाउन फोरमको उपयोग गरौँ । डंगोलको भनाइ थियो ।
बैठक प्रारम्भ हुनुअघि काठमाडौँ महानगरपालिकाका तर्फबाट वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनमा विद्यमान अवस्था र दिगोपनाका लागि अवको आवश्यकता विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । यसमा पनि ल्याण्डफिल साइट क्षेत्रको व्यवस्थापन र यसमा स्थानीय तहको जिम्मेवारीमा केन्द्रीत गरिएको थियो । ल्याण्डफिल साइटमा काठमाडौँसहित विभिन्न ६ वटा जिल्लाका २४ वटा पालिकाबाट फोहरको अन्तिम व्यवस्थापन कार्य गरिँदै आएको छ । ढुवानी नगरपालिका र निजी क्षेत्रबाट हुने गरेको छ भने साइट व्यवस्थापनको काम काठमाडौँ महानगरपालिकाले गर्ने गरेको छ ।





प्रतिक्रिया दिनुहोस्