मुस्ताङ – चालू आर्थिक वर्षको ७ महिनामा ३ लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक यहाँ आएका हुन् । बेनी-जोमसोम सडकमार्ग हुँदै साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार ४ जना विदेशी तथा स्वदेशी पर्यटक आएका थिए । गत वर्षको साउनदेखि माघसम्म तीन लाख ४० हजार ७२९ विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । प्रहरीको तथ्याङ्कअनुसार गत वर्षको ८ महिनाको तुलनामा चालू आवको सोही अवधिमा १८ हजार १७१ जना (५.३३ प्रतिशत) पर्यटक कम भित्रिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नवराज न्यौपानेले म्याग्दी र मुस्ताङको सिमाना घाँसामा सडकमार्ग हुँदै मुस्ताङ भित्रिने विदेशी तथा स्वदेशी पर्यटकको अभिलेख संकलन हुँदै आएको बताए । पोखरा-जोमसोम हवाई सेवामार्फत मुस्ताङ भित्रिएका र मनाङ हुँदै थोरङलापास गरी मुस्ताङ भित्रिएका पर्यटकको मातहतका प्रहरी एकाइहरूले अभिलेख संकलन गर्छन् । मुस्ताङमा आव २०८०/८१ मा चार लाख ५४ हजार ३२६ जना र आव २०८१/८२ मा सात लाख पाँच हजार ७७९ जना स्वदेशी तथा विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक बर्सेनि सहज हुँदै जान थालेपछि मुस्ताङमा पर्यटकको आगमनदर बढेको छ । मुस्ताङमा भित्रिएका सार्क राष्ट्रका पर्यटकमध्ये अधिकांश भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी फर्किने गरेका छन् । अन्य राष्ट्रका विदेशी पर्यटक भने बेनी-जोमसोम सडकमार्ग र मनाङ हुँदै थोरङ्लपास क्रस गरी मुस्ताङ आउँछन् । मुस्ताङको कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध गर्न तथा मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने स्वदेशी पर्यटकको सङ्ख्या पनि बढ्दो छ । मुस्ताङ भित्रिएका पर्यटकमध्ये तीन प्रतिशत विदेशीले माथिल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् । पछिल्लो समय जोमसोम-कोरला सडक सहज भएपछि उल्लेख्य सङ्ख्यमा स्वदेशी पर्यटक कोरला नाकासम्म पुग्छन् ।
-रासस





प्रतिक्रिया दिनुहोस्