Skip to content

ट्रम्पले इरानलाई दिए १५ दिनको अल्टिमेटम

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रम सम्बन्धि सम्झौता गर्न १५ दिनको अल्टिमेटम दिएका छन् । वासिङ्टन डिसीमा बिहीबार आयोजित बोर्ड अफ पिसको बैठकमा बोल्दै ट्रम्पले इरानलाई १० देखि १५ दिनभित्र आणविक कार्यक्रममा ठोस सम्झौता गर्न अल्टिमेटम दिएका हुन् । अन्यथा इरानले अत्यन्त खराब परिणाम भोग्नुपर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । ‘१०/१५ दिन पर्याप्त हुन्छ। यो समयभित्र सम्झौतामा नआए तेहरानले धेरै खराब परिणाम ब्यहोर्नुपर्नेछ,’ ट्रम्पले भने । कुटनीतिक तवरबाटै विवाद समाधानका लागि अमेरिकाले इरानसँग स्वीट्जरल्याण्डको जेनेभामा वार्ता गरेको थियो । वार्ता सकारात्मक भएको भनेर इरानले भने पनि अमेरिकाले भने कुनै पनि विषयमा ठोस सहमति नभएको बताएको छ ।

इरानले सम्झौताका लागि अर्को मस्यौदा तयार गर्न १५ दिनको समय मागेको छ। जेनेभाको वार्ताअघि इरान र अमेरिकाबीच ओमानको मस्कटमा छलफल भएको थियो । वासिङ्टनले इरानले युरेनियम समृद्धीकरण पूर्ण रूपमा त्याग्नुपर्ने सर्त वासिङ्टनको छ। साथै लामो दूरीका ब्यालिस्टिक मिसाइल कार्यक्रम रोक्नुपर्ने र मध्यपूर्वका लडाकू समूहहरूलाई समर्थन नगर्न दबाब दिएको छ । इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ । उसले इरानको मिसाइल कार्यक्रम छलफलको विषय हुन नसक्ने भनेको थियो। त्यस्तै अन्य देशका कुन समूहहरूलाई समर्थन दिने/नदिने भन्ने निर्णय इरानको आन्तरिक विषय भएको पनि इरानी विदेशमन्त्री अब्बास अराक्चीले मस्कटको छलफलपछि बताएका थिए ।

तारान्तार वार्ता र छलफलका बाबजुद कुनै पनि सहमति नहुँदा अमरिकाले इरानको छेउछाउ सैन्य उपस्थिति तीव्र गतिमा वृद्धि गरेको छ । अमेरिकी सेना इरानमा हमलाका लागि तम्तयार भएर बसेको खबर पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । छिटोमा यही सप्ताह्न्तमा अमेरिकाले इरानमा हमला गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको र राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश मात्रै सेनाले कुरिरहेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका थिए । त्यसको तयारी पनि अमेरिकी सेनाले व्यापक बनाएको छ । अमेरिकी युद्धपोत अब्राहम लिंकन एक महिनादेखि नै मध्यपूर्व क्षेत्रमा तैनाथ गरिएको छ । केही दिनअघिमात्रै अमेरिकाले अर्को युद्धपोत जेराल्ड फोर्ड मध्यपूर्व क्षेत्रमा पठाएको थियो। यो जिब्राल्टरनजिक पुगिसकेको र यसले अब्राहम लिंकनसँग समन्वय गर्ने बताइएको छ। दुवै क्यारियर समूहमा विनाशक, क्रुजर र पनडुब्बीहरू समेत संलग्न छन् । दुइटा लडाकू विमानबाहक युद्धपोतबाहेक बेलायतस्थित अमेरिकी वायुसेनाको इन्धन बोक्ने दर्जनौं ट्यांकर विमान, ५० वटाभन्दा बढी अतिरिक्त लडाकू विमान पनि मध्यपूर्वमा परिचालन गरिएको छ । प्याट्रियट र थाडजस्ता क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू क्षेत्रमा सारिएका छन्, जसले इरानी ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गर्न सक्ने अमेरिकी अधिकारीहरूको दाबी छ ।

अमेरिकी बी–२ बमवर्षक विमानहरू उच्च सतर्कतामा राखिएको ‍अधिकारीहरूले बताएका छन् । सम्भावित आक्रमण वा इरानी प्रतिकारको जोखिमलाई ध्यानमा राख्दै पेन्टागनले केही कर्मचारीलाई अस्थायी रूपमा युरोप वा अमेरिकातर्फ सारिरहेको पनि सिएनएनले लेखेको छ । गत वर्षको जुलाईमा मात्रै अमेरिकाले इरानमाथि हमला गरेको थियो। त्यतिबेला उसले इरानको आणविक कार्यक्रमहरूलाई लक्ष्य गरेर तीनवटा आणविक भट्टीमा जिबियू-५७ बम खसालेको थियो ।

इरानको आणविक भट्टी कामै नलाग्नेगरी ध्वस्त भएको दाबी अमेरिकाले गरेको थियो । राष्ट्रपति ट्रम्पले बिहीबारको कार्यक्रममा पनि अमेरिकाको हमलाबाट इरानका ती तीनवटा परमाणु भट्टीहरू कामै नलाग्नेगरी ध्वस्त भएको दाबी गरेका छन् । तर पछिल्लो समय इरानले आणविक कार्यक्रमहरू सञ्चालन गरिहेको संकेत दिने भूउपग्रह तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । तस्बिरमा केही प्रमुख आणविक स्थलहरूमा कंक्रिट प्रयोग गरी सुरक्षाका संरचनाहरू मजबुत पारिएको देखिएको छ। यसबाट पनि इरानको आणविक कार्यक्रमहरू सञ्चालनमै रहेको भन्ने बुझिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाले हमला गरे इरानले पनि त्यसको प्रत्युत्तर दिने चेतावनी यसअघि नै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले दिइसकेका छन् । बुधबार आफ्नो एक्स अकाउन्टमा खामेनीले अमेरिकी युद्धपोत समुद्रको पिँधमा देखाइएको एआई तस्बिर सार्वजनिक गर्दै युद्धपोतलाई डुबाउन सक्ने हतियार इरानसँग रहेको दाबी गरेका छन् । इरानले मध्यपूर्वमा रहेका अमेरकी सैन्य अड्डामा पनि निशाना बनाउने चेतावनी दिएको छ । तनाव बढ्दै जाँदा रूसले भने चिन्ता व्यक्त गर्दै संयम अपनाउन आग्रह गरेको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्