Skip to content

रास्वपाले झन्डा जलाइदिएको घटनामा एमालेले गर्‍यो निन्दा, महासचिव पोखरेलले भने – अराजक र उदण्ड व्यवहार

काठमाडौँ – दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दाङ पुगेका बेला उनका समर्थकको भीडमा भएको झन्डा जलाउने घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कडा आपत्ति जनाएको छ । बिहीबार बेलुकी तुलसीपुरको वीरेन्द्र चोकमा रास्वपाका समर्थकहरू भेला भएका थिए। सो क्रममा केही व्यक्तिले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गर्दै चुनाव चिह्न ‘सूर्य’ अंकित झन्डा जलाइदिएको आरोप लागेको छ ।

एमालेको कडा प्रतिक्रिया

एमाले महासचिव शंकर पोखरेलले उक्त घटनालाई अराजक र उदण्ड व्यवहारको संज्ञा दिएका छन् । उनले भने,“अराजकता र उदण्डता कुनै नयापन होइनन्, ती अपराध हुन्। झन्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन्। यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन्।” महासचिव पोखरेल दाङ–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत हुन्। उनले झन्डा जलाइएको विषयमा निर्वाचन आयोग र स्थानीय प्रशासनमा उजुरी दिने बताएका छन्।

एमाले दाङ अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै पार्टीको आस्था र भावनामाथि प्रहार भएको उल्लेख गरेका छन्। उनले दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । यसैगरी, एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र भ्रातृ संगठन युवा संघका प्रतिनिधिहरूले दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई भेटेर २४ घन्टाभित्र दोषीमाथि कानुनअनुसार कारबाही गर्न ज्ञापनपत्र बुझाएका छन् ।

रास्वपाको प्रतिक्रिया

यता, रास्वपाका दाङ जिल्ला सभापति बिनय घिमिरेले भने झन्डा जलाउने कार्यमा ‘घुसपैठ र अवाञ्छित तत्व’ संलग्न रहेको दाबी गरेका छन् । उनका अनुसार सभापति रवि लामिछाने सुर्खेत हुँदै तुलसीपुर आइपुग्दा स्वागतमा देखिएको उत्साहजनक उपस्थितिपछि केही तत्वहरूले भ्रमपूर्ण वातावरण सिर्जना गर्न यस्तो गतिविधि गरेको ठहर रास्वपाले गरेको छ । घटनापछि दाङको राजनीतिक वातावरण थप तातिएको छ। स्थानीय प्रशासनले भने घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्