काठमाडौँ – काठमाडौँको गोठाटारमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिता अन्तर्गत सातौँ दिनका खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । फागुन १ गतेदेखि सुरु भएको प्रतियोगितामा आज सम्पन्न चार खेलपछि अन्तिम चार टोली टुंगो लागेको हो ।
आज भएको पहिलो खेलमा विद्यावाणी र लाइसियमबीच निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टी सुटआउटमा विद्यावाणीले ४–० ले बाजी मार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । खेलको म्यान अफ द म्याच लाइसियमका ओम बिक्रम खड्का घोषित भए । यस्तै अर्को खेलमा विद्या विकास (VBS) ले अर्किडलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्यो । खेलको म्यान अफ द म्याच अर्किडका अभिजित ठकुरी बने ।
त्यस्तै, अर्को खेलमा निर्मल ज्योतीले सुधा सागरलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनायो । उक्त खेलमा सुधा सागरका सुबिन भोलन म्यान अफ द म्याच घोषित भए । आज भएको अन्तिम खेलमा एकलव्य स्कुलले गेटवेलाई १–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो । खेलको म्यान अफ द म्याच गेटवेका बिराज सिंह घोषित भए । अब प्रतियोगिताको सेमिफाइनलमा भोलि निर्मल ज्योती र विद्यावाणीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा विद्या विकास र एकलव्य स्कुल आमनेसामने हुनेछन् । प्रतियोगिता रोमाञ्चक चरणमा प्रवेश गरेसँगै उपाधि होड झनै प्रतिस्पर्धात्मक बनेको छ । प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरूले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । फागुन १० गते हुने फाइनल खेलसँगै प्रतियोगिताको औपचारिक समापन हुने आयोजकले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्