दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ क्षेत्र नं. ३ को तुलसीपुरस्थित सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ। शुक्रबार साँझ करिब ६ बजेतिर केही व्यक्तिहरूले कार्यालयमा क्षति पुर्याएको बताइएको छ । रास्वपाका क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीका अनुसार कार्यालयमा तोडफोड भएको हो। घटनासम्बन्धी भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा केही युवाहरूले नेकपा एमाले र युवा संघको नारा लगाउँदै तोडफोड गरेको देखिन्छ । यसअघि बिहीबार राति रास्वपाका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रममा भएको भीडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सो घटनाप्रति एमालेले गम्भीर आपत्ति जनाएको थियो । झन्डा जलाउने घटनापछि उत्पन्न तनावकै कारण तोडफोड भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपीले भने कार्यालयमा ठूलो क्षति नभएको र स्थिति नियन्त्रणमा रहेको बताएका छन् ।
प्रहरीका अनुसार एमालेको झन्डा जलाएको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्