Skip to content

केपी ओलीले भने – विकास गर्न पैसा चाहिदैन

काठमाडौं – केपी शर्मा ओलीले देश निर्माणका लागि पैसा भन्दा पनि संकल्प, दृष्टिकोण र स्पष्ट योजनाको आवश्यकता हुने बताएका छन् । शनिबार निजी क्षेत्रसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले विकासका लागि केवल आर्थिक स्रोत पर्याप्त नहुने धारणा राखे । उनले भने, “पैसाले मात्र धनी बनाउने होइन, पैसाले मात्र विकास गर्ने पनि होइन। विकास आइडिया, दृष्टिकोण र सोचले गर्छ। विकास भएपछि पैसा कमाइन्छ ।”

ओलीले ठूलो जनसंख्या भए पनि चीनले गरिबी निवारणमा सफलता हासिल गरेको उल्लेख गर्दै संकल्प र नीतिगत दृढताकै कारण सम्भव भएको दाबी गरे। “डेढ अर्ब जनसंख्यालाई गरिबीबाट हटाएको छ। अहिले गर्वका साथ गरिबी निवारण गरेको भन्छ। चीनसँग पैसा भएर मात्रै गरिबी हटाएको हो र?” उनले प्रश्न गरे । उनले आफूले अघि सारेको “म बनाउँछु मेरो देश” नारालाई अब सम्पूर्ण देशले अपनाउनुपर्ने बताए। “अब सिंगो देशले भन्नुपर्छ, म बनाउँछु मेरो देश। अब यो मेरो मात्र नारा होइन,” उनले भने । देश नेपालीकै संकल्प र मेहनतले बन्ने उल्लेख गर्दै ओलीले हिम्मत र इच्छाशक्ति भए असम्भव पनि सम्भव हुने बताए। “यो देश हाम्रो संकल्पले बन्ने हो, पैसाले हुँदैन। गर्छु, म सक्छु भनेर हिम्मत गरेपछि सकिन्छ,” उनले भनाइ राखे । उनले दुई वर्षभित्र मेचीदेखि महाकालीसम्म मदन भण्डारी राजमार्ग निर्माण गर्न सकिएको दाबी गर्दै केही वर्षमै देशभर सडक सञ्जाल विस्तार र सिँचाइ सुविधा पुर्‍याउन सफल भएको बताए।

“केही वर्षभित्र नेपाललाई सडकमय बनाउन सकिँदो रहेछ। खेतहरूमा सिँचाइ पुर्‍याउन सकिँदो रहेछ। हामीले पुर्‍याएका छौँ,” उनले भने । देश विकासका लागि गफभन्दा ठोस र कङ्क्रिट योजना आवश्यक पर्ने उनको भनाइ थियो। “देश बनाउन कङ्क्रिट योजना चाहिन्छ,” उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्