Skip to content

विकास निर्माणमा अब तीन सिफ्टमा काम हुन्छ :  रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश अब विकास–निर्माणको तीव्र चरणमा प्रवेश गरेको दाबी गरेका छन्। उनले निर्माण व्यवसायीहरूलाई त्रसित नहुन आग्रह गर्दै कानुनअनुसार काम गर्नेहरूलाई कसैले नछुने स्पष्ट पारे । हालै रास्वपाका वरिष्ठ नेता बालेन साहको अभिव्यक्तिबारे उठेको बहसको सन्दर्भ जोड्दै लामिछानेले भने, “बाँध्ने भनेको कानुनले बाँध्ने हो, डोरीले होइन । नियम मानेर काम गर्नेहरूलाई कुनै समस्या हुँदैन।” धनगढीमा आयोजित चुनावी सभामा बालेनले सडक निर्माणमा ढिलाइ गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिएका थिए ।

सभापति लामिछानेले विकास आयोजनामा अब दुईदेखि तीन सिफ्टसम्म काम सञ्चालन गरिने जानकारी दिए। “अब रातदिन काम हुन्छ। आवश्यक उपकरण छैन भने ल्याउनुस्, प्रक्रिया सजिलो बनाइन्छ,” उनले भने, “नेपाललाई विकासको मार्गमा अघि बढ्न अब कसैले रोक्न सक्दैन।” यसक्रममा उनले नेपाली कांग्रेसका नेता गगन थापा प्रति लक्षित टिप्पणी पनि गरे। लामो समय सांसद र मन्त्री रहिसकेपछि मात्रै पूर्वाधार विकासका लागि कानुन संशोधनको आवश्यकता बुझेको भन्दै उनले कटाक्ष गरे । लामिछानेले सुशासन र कानुनी कडाइसँगै विकासलाई तीव्र बनाउने नीति रास्वपाले अघि सारेको उल्लेख गरे। उनले निर्माण व्यवसायी, प्राविधिक र सरोकारवाला सबैलाई सहकार्यका लागि आह्वान गर्दै अबको समय परिणाममुखी कामको भएको बताए।

प्रतिक्रिया दिनुहोस्