काठमाडौँ – शेरबहादुर स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनी बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका विमानस्थल सुरक्षास्रोतले जनाएको छ । स्रोतका अनुसार देउवा राति करिब साढे १० बजे अन्तर्राष्ट्रिय टर्मिनलको स्टेरलाइज एरियामा देखिएका थिए । उनीसँग अन्य २–३ जना पनि साथमा रहेको बताइएको छ । यसअघि विशेष महाधिवेशनपछि पार्टी नेतृत्वबाट बाहिरिएका देउवा प्रतिनिधि सभा निर्वाचन प्रक्रियाबाट पनि अलग रहेका थिए। निर्वाचन आयोगले आधिकारिकता नदिएको र सर्वोच्च अदालतबाट पनि अन्तरिम आदेश नपाएपछि उनले चुनाव नलड्ने अवस्था बनेको थियो । उनले यसपटक मतदानका लागि गृहजिल्ला डडेल्धुरा समेत नगएको समाचार सार्वजनिक भएको थियो । डडेलधुराबाट २०४८ सालदेखि लगातार सात पटक प्रतिनिधि सभा चुनाव जितेका देउवाले यसपटक उम्मेदवारी नपाएपछि सक्रिय राजनीतिबाट टाढा बसेका थिए। उनको स्थानमा कांग्रेसले युवा नेता नैनसिंह महरलाई उम्मेदवार बनाएको थियो । देउवाको सचिवालयले पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा सहभागी नभएको र स्वास्थ्य अवस्थाका कारण उपचारका लागि सिंगापुर गएको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्