Skip to content

बिबिसीको डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिललाई लेख्यो पत्र

काठमाडौँ – बिबिसी वर्ल्ड सर्भिसले प्रकाशन गरेको डकुमेन्ट्री रिपोर्ट हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्र लेखेको छ । बिहीबार आयोगले प्रेस काउन्सिललाई उक्त डकुमेन्ट्री हटाउन पत्र लेखेको आयोगका आयुक्त रामप्रसाल भण्डारीले जानकारी दिए । उनका अनुसार बिबिसीले प्रकाशन गरेको डकुमेन्ट्री निर्वाचनको माहोल भाड्ने किसिमको छ । ‘निर्वाचनको माहोल भाड्ने किसिमको डकुेन्ट्री भएको हुँदा हटाउन पत्र काटेका हौं,’ उनले भने । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई लिएर बिबिसीले डकुमेन्ट्री बनाएर आज प्रकाशन गरेको थियो । बिबिसीले सार्वजनिक गरेको डकुमेन्ट्रीमा नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङले भदौ २३ गते कर्फ्यू लागेपछि बल प्रयोग गर्न आदेश माग्न नपर्ने निर्देशन दिएको दाबी गरेको छ । बिबिसीले यो डकुमेन्ट्री बिहीबार सार्वजनिक गरेको हो। उसले ४ हजार भन्दा बढी फोटो/भिडिओ मूल्यांकन गरी रिपोर्ट तयार पारेको दाबी गरेको छ ।

बिबिसी मिडियाले नेपाल प्रहरीको टाइमलाइन रिपोर्ट पनि प्राप्त गरेको छ । बिबिसीका अनुसार ११:५८ बजे प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। सवा १२ बजेतिर प्रदर्शनकारीहरूले पर्खाल भत्काउन खोजेका थिए। प्रदर्शनकारीहरू छत चढेको लगायतका विवरणहरू उल्लेख छन् । भिड अनियन्त्रित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले साढे १२ बजे कर्फ्यू आदेश जारी गरेको थियो । त्यसपछि किलो वान अर्थात, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले घुँडा मुनि रबरको बुलेट प्रयोग गर्न आदेश दिएको बिबिसीले जनाएको छ । अश्रुग्यास र रबरको बुलेट प्रयोग गर्दा परिस्थिति नियन्त्रणमा नआएपछि फिल्डमा खटिएका प्रहरीले थप बल प्रयोगका लागि आदेश मागेको थियो । प्रहरीको ‘पिटर वान’ कलसाइनबाट थप बल प्रयोगका लागि आदेश आवश्यक नरहने निर्देशन आएको बिबिसीले प्राप्त गरेको प्रहरीको टाइम लाइन रिपोर्टमा उल्लेख छ । पिटर वान कलसाइन नेपाल प्रहरीको आइजिपीले प्रयोग गर्छ। अर्थात् त्यो आदेश दिने व्यक्ति त्यतिबेला आइजिपी रहेका चन्द्रकुबेर खापुङ थिए भनेर बिबिसीको रिपोर्टले सार्वजनिक गरेका थिए । ‘१२:४०: कर्फ्यू लागि सकेको छ, आदेश माग गरिराख्नु नपर्ने, आवश्यक बल प्रयोग गर्ने,’ खापुङले भनेका थिए । बिबिसीले यस घटनामा आइजिपी खापुङले जिम्मेवारी लिन अस्वीकार गरेको पनि बताएको छ। उनले कर्फ्यु आदेश तत्कालीन जिल्ला सुरक्षा समितिको निर्णय भएको र त्यसको कार्यान्वयन गर्दा प्रहरी महानिरीक्षकको थप आदेश नचाहिने बताउँदै आएका छन् । भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा १९ जनाको ज्यान गएको थियो। त्यसपछि भोलिपल्ट आन्दोलन थप चर्किएको थियो। जेनजी आन्दोलनको क्रममा ७६ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये तीन जना प्रहरीसहित ४५ जनालाई शहिद घोषणा गरेको छ। भदौ २४ गते आन्दोलन थप बल्झिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्