Skip to content

इजरायलभर मिसाइल आक्रमणको चेतावनी दिने साइरन

तेल अभिभ – इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ। स्थानीय समय अनुसार बिहान करिब ८:१५ बजे इजरायलभर मिसाइल आक्रमणको चेतावनी दिने साइरनहरू बजेका थिए । इरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने र युद्ध रोक्ने उद्देश्यले अमेरिका र इरानी अधिकारीहरूबिच कूटनीतिक प्रयास भइरहेकै समयमा इजरायलले यो सैन्य कदम चालेको हो। इरानले वार्तामा केही लचिलोपन देखाए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो मात्रै छलफलको गतिप्रति आफू उत्साहित नभएको टिप्पणी गरेका थिए । ट्रम्पले सन् २००३ को इराक आक्रमणयताकै सबैभन्दा ठूलो संख्यामा अमेरिकी सेना मध्यपूर्वमा परिचालन गर्न आदेश दिएका छन्, यद्यपि अहिले नै सैन्य कारबाही किन आवश्यक पर्यो भन्नेबारे उनले स्पष्ट पारेका छैनन्। अर्कोतर्फ, इरानले कुनै पनि आक्रमणको कडा सैन्य प्रतिवाद गर्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले ‘इजरायल विरुद्धका खतराहरू हटाउन’ यो पूर्व-सतर्कता आक्रमण गरिएको बताएका छन्। यसअघि गत जुनमा पनि इजरायलले इरानमाथि आक्रमण गर्दा १२ दिने युद्ध भएको थियो, जसमा पछि अमेरिका समेत सहभागी भएर इरानका आणविक केन्द्रहरूलाई निशाना बनाएको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको ब्यालिस्टिक मिसाइलबाट आफ्नो देशलाई गम्भीर खतरा रहेको बताउँदै आएका छन्। उनले इरानको आणविक कार्यक्रममा मात्र केन्द्रित हुने कुनै पनि सम्झौताप्रति असहमति जनाउँदै आएका छन् । यता इरानले भने आफ्नो ब्यालिस्टिक मिसाइल कार्यक्रम र क्षेत्रका विभिन्न समूहहरूलाई दिइरहेको समर्थनबारे छलफल गर्न अस्वीकार गर्दै आएको छ। इरानले यी मागहरूलाई आफ्नो सार्वभौमसत्ता माथिको हस्तक्षेप ठानेको छ।

प्रतिक्रिया दिनुहोस्