इरानले इसराइलमाथि जबाफी हमला गरेको छ । इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले विज्ञप्ती जारी गरी इरानबाट भएका हानिएको मिसाइलहरूलाई हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारिरहेको जनाएको छ । इसराइलको आकाश सुरक्षित मानिन्छ। यद्यपि धेरै संख्यामा हवाई हतियार प्रहार हुँदा प्रतिरक्षा प्रणालीले पनि थेग्न नसक्ने खतरा हुन्छ । त्यसकारण इसराइलले इरानमा हमला गरेलगत्तै देशव्यापी आपतकाल घोषणा गरिसकेको छ। इरानमा हमला लगत्तै इसराइलले हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय पारेको छ । ‘केही समयअघि इरानबाट इजरायलतर्फ प्रक्षेपित मिसाइलहरू पहिचान गरिएपछि देशका विभिन्न स्थानमा साइरन बजाइएको छ,’ बिबिसीले सार्जनिक गरेको आइडिएफको विज्ञप्तीमा भनिएको छ । आइडिएफले इसराइली नागरिकहरूलाई सेनाको आह्वान र निर्देशन पालना गर्न आग्रह गरेको छ। ‘रक्षा प्रणाली पूर्ण अभेद्य हुँदैनन्। त्यसैले सर्वसाधारणहरूले सेनाको अपिललाई पालना गर्नु अत्यावश्यक हुन्छ,’ वक्तव्यमा भनिएको छ । इसराइली सञ्चारमाध्यमहरूले पनि ठूलो संख्यामा इरानबाट मिसाइलहरू इसराइलको आकाशमा देखिएको भनेर समाचार लेखेका छन् ।
घटनापछि इरानले भने राष्ट्रपति मसुद पेजिस्कियन सुरक्षित रहेको बताएको छ । इरानी अधिकारीलाई उद्धृत गर्दै इरानको सरकारी समाचार संस्था आआरएनएले राष्ट्रपति पेजिस्किएन सुरक्षित रहेको भनेको हो । शनिबार बिहान अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला गरेको हो । यो आक्रमणलाई इसराइलले अपरेसन ‘रोअर लायन’ (सिंहको गर्जन) नाम दिएको छ ।





प्रतिक्रिया दिनुहोस्