Skip to content

बहराइनमा अमेरिकी नौसैनिक अड्डामा इरानले हान्यो मिसाइल

बहराइनमा रहेको अमेरिकी नौसैनिक अड्डामा इरानले मिसाइल हानेको छ । बहराइनस्थित अमेरिकी नौसेनाको कमान्ड पोस्ट ‘फिफ्थ फ्लिट’लाई इरानले निशाना बनाएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्  । इरानले आफ्नो देशमा अमेरिकी हमला भए मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाउने चेतावनी दिएको थियो । शनिबार बिहान इसराइल र अमेरिकाले इरानमा हमला गरेपछि जबाफमा इरानले बहराइनको हवाई अड्डामा आक्रमण गरेको भनेर बिबिसीले लेखेको छ । बहराइनको सरकारी समाचार संस्था बिएनएले पनि फिफ्थ फ्लिटमा मिसाइल हमला भएको तर त्यो कहाँबाट आएको भन्ने चाहिँ उल्लेख गरेको छैन । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै उक्त मिसाइल इरानबाटै हानिएको भनेर पुष्टि गरेको छ ।

त्यसको क्षतिबारे भने केही खुलेको छैन । इरानले यसराइलमा पनि जबाफी हमला गरेको छ। इरानमा हमलापछि इसराइलले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । त्यस्तै दोस्रो चरणको आक्रमणका लागि पनि तयारी अवस्थामा रहेको भन्दै इसराइली अधिकारीहरूलाई उद्धृत गरेर सिएनएनले लेखेको छ । इसराइलले इरानविरूद्धको आक्रमणलाई अपरेसन ‘रोओरिङ लायन’ नाम दिएको छ ।

प्रतिक्रिया दिनुहोस्