इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ । इरानका सरकारी टेलिभिजन र विभिन्न मिडिया आउटलेटहरूले सर्वोच्च नेता खामेनी मारिएको पुष्टि गरेका छन् । खामेनीसँगै उनकी छोरी, ज्वाइँ, बुहारी र नाति पनि मारिएको भनेर इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युजलाई उद्धृत गर्दै अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए। यद्यपि इरानी अधिकारीहरूले भने उनी सुरक्षित नै रहेको बताउँदै आएका थिए । आइतबार बिहान मात्रै इरानी अधिकारीहरूले पनि उनको मृत्यु भएको पुष्टि गरेको त्यहाँका सञ्चारमाध्यमहरुलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक घोषणा भएको पनि रोटर्सले लेखेको छ ।
शनिबार बिहान अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला गरेको थियो । राजधानी तेहरानस्थित सर्वोच्च नेता खामेनीको घरनजिकै विस्फोटका ठूला आवाज सुनिएको र धुवाँका मुस्लो देखिएको थियो । खामेनीको निवाससँगै अन्य भवनहरूमा पनि क्षति भएको भिडिओ र तस्बिर सार्वजनिक भएका थिए । आक्रमणपश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नागरिकहरुका लागि सत्ता आफ्नो नियन्त्रणमा लिने सुनौलो अवसर आएको बताएका थिए । ८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको नेतृत्वमा थिए ।





प्रतिक्रिया दिनुहोस्