काठमाडौं – नेपाली काँग्रेस दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार धर्मानन्द जोशीले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गर्दै डिजिटल अभियानको सुरुवात गरेका छन् । dharmanandajoshi.com नामक वेबसाइटमार्फत उनले आफ्नो परिचय, सामाजिक योगदान, राजनीतिक दृष्टिकोण तथा चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
वेबसाइटमा जोशीको व्यक्तिगत पृष्ठभूमि, शिक्षा, अन्तर्राष्ट्रिय अनुभव र सामाजिक कार्यहरूको विस्तृत विवरण समावेश गरिएको छ। संयुक्त राष्ट्रसंघमा लामो समय काम गरेको अनुभवलाई प्रस्तुत गर्दै उनले पारदर्शी शासन, सुशासन र विकासमुखी नेतृत्वको प्रतिबद्धता व्यक्त गरेका छन् ।वेबसाइटमा शिक्षा, स्वास्थ्य, सामाजिक सहयोग तथा धार्मिक–सांस्कृतिक क्षेत्रमा गरेका योगदानहरूलाई विशेष रूपमा समेटिएको छ। छात्रवृत्ति स्थापना, सामाजिक सहयोग तथा विभिन्न जनहितका कार्यहरूले उनको सामाजिक सक्रियता झल्काउने उल्लेख गरिएको छ । यसका साथै वेबसाइटमा अभियानसम्बन्धी गतिविधि, मिडिया कवरेज, समर्थनका लागि फाराम तथा जनतासँग प्रत्यक्ष जोडिने माध्यमहरू पनि समावेश गरिएको छ। यसले मतदाता र समर्थकलाई उम्मेदवारसँग डिजिटल माध्यमबाट जोडिन सहज बनाएको छ । डिजिटल माध्यमको प्रयोगमार्फत जोशीले आधुनिक र पारदर्शी राजनीतिक अभ्यासलाई प्राथमिकता दिएको सन्देश दिएका छन्। वेबसाइटले उनको राजनीतिक अभियानलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । व्यक्तिगत आधिकारिक वेबसाइट सार्वजनिक गर्नु उम्मेदवारको पेशागत छवि मजबुत बनाउने र मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।





प्रतिक्रिया दिनुहोस्