Skip to content

हिमाली तथा पहाडी जिल्लामा आज फागु पुर्णिमा मनाईदै

काठमाडौँ – फागुपूर्णिमा अर्थात् होली आज देशका हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्‍भाव र भाइचाराको सन्देश बोकेर आउने प्राचीन परम्परा हो। आज होली पर्वको समापन समेत गरिने भएको छ ।

केही वर्षअघिसम्म काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रमा उच्छृङ्खल रूपमा मनाइने होली पछिल्लो समय प्रहरीको सक्रियताका कारण व्यवस्थित र सभ्य बन्दै गएको छ। सडकमा हिँड्ने व्यक्तिलाई इच्छाविपरीत रङ तथा लोला हान्ने गतिविधि प्रायः बन्द भएको छ भने फागुपर्वको अघिल्लो दिन फोहोर पानी छ्याप्ने जस्ता क्रियाकलापसमेत देखिएका छैनन्।

आज काठमाडौँको वसन्तपुर दरबार क्षेत्र मा गाडिएको ‘चिर’ विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेल लगेर जलाउने परम्परा रहेको छ। चिरमा राखिएका ध्वजापताका औषधोपचारमा उपयोगी हुने विश्वास गरिन्छ भने चिरको खरानी टीका लगाउँदा अनिष्ट टर्ने जनविश्वास छ। तराई–मधेस क्षेत्रमा भने भोलि होली मनाउने चलन छ।

यसैबीच निर्वाचन आयोग ले प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै भीडभाड र तामझाम नगरी मर्यादित रूपमा होली मनाउन आग्रह गरेको छ। यस वर्ष संघसंस्था वा कलाकारलाई कन्सर्ट तथा साङ्गीतिक कार्यक्रम आयोजना गर्न अनुमति नदिइएको जनाइएको छ। प्रहरीले विभिन्न स्थानमा विशेष सुरक्षा व्यवस्था मिलाउँदै शान्तिपूर्ण रूपमा पर्व मनाउन अनुरोध गरेको छ।

फागुपर्व नेपालसँगै भारत लगायत विभिन्न देशमा फरक–फरक नाम र परम्परामा मनाइन्छ। श्रीलङ्का, इन्डोनेसिया, म्यान्मार, थाइल्यान्ड, जापान र इजिप्ट जस्ता देशहरूमा पनि सांस्कृतिक रूपान्तरणसहित समान प्रकृतिका उत्सव मनाइने गरिन्छ। नाम फरक भए पनि आपसी सद्‍भाव, सामाजिक एकता र उत्साह अभिवृद्धि गर्नु नै यस्ता उत्सवहरूको मूल उद्देश्य रहेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्