काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता उत्साहित रहेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको छ।
संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन तथा कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्र निर्वाचनपूर्व वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको जनाएको छ।
जियोकका महासचिव कृष्णमान प्रधान का अनुसार राजनीतिक दल, मतदाता, उम्मेदवार, नागरिक समाज, प्रेस, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीसँगको भेटवार्ता र कुराकानीका आधारमा प्रतिवेदन तयार गरिएको हो।
प्रतिवेदनमा भनिएको छ, “राष्ट्रिय पर्यवेक्षकको स्थलगत अवलोकन प्रतिवेदनअनुसार निर्वाचन शान्तिपूर्ण, स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने आधार तयार भएको छ।”
निर्वाचनको राष्ट्रिय पर्यवेक्षणमा खटिनुभएका प्राध्यापक चिरञ्जीवी खनाल ले तयारी तीव्र गतिमा अघि बढिरहेको, कर्मचारी मतदानस्थलमा पुगिसकेको, मतदान केन्द्र निर्माण भइरहेको तथा सुरक्षा निकाय संवेदनशीलताका साथ तैनाथ रहेको जानकारी दिनुभयो। उहाँका अनुसार यसपटक विगतको जस्तो ठूला आमसभा र जुलुसभन्दा गाउँटोलमै पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने प्रवृत्ति देखिएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अभियन्ता एवं राष्ट्रिय पर्यवेक्षक हरिविनोद अधिकारी ले निर्वाचनका लागि शान्तिपूर्ण वातावरण रहेको र मतदान केन्द्रमा आवश्यक स्रोतसाधनसहित कर्मचारी टोली पुगिरहेको बताउनुभयो। “मतदाता, उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसमेत निर्वाचन शान्तिपूर्ण हुनेमा विश्वस्त देखिन्छन्,” उहाँले भन्नुभयो।
अर्का राष्ट्रिय पर्यवेक्षक गणेशमान प्रधान र डा मिनेन श्रेष्ठ ले अधिकांश मतदान केन्द्र विद्यालय र वडा कार्यालय भवनमा रहेकाले मतदातामैत्री वातावरण रहेको जानकारी दिनुभयो।
जियोकले सातै प्रदेशमा राष्ट्रिय पर्यवेक्षक खटाएर निर्वाचनपूर्व अवस्थाबारे अध्ययन गरेको जनाएको छ। प्रतिवेदनमा एकीकृत सुरक्षा योजना कार्यान्वयन, प्रशासनिक तथा सुरक्षात्मक तयारी सन्तोषजनक रहेको र दलहरूबीच प्रतिस्पर्धा तीव्र भए पनि समग्र वातावरण शान्तिपूर्ण रहेको उल्लेख छ।
देशभर मतदान केन्द्रमा सामग्री र कर्मचारी खटाइ योजनाअनुसार सम्पन्न भएको तथा घरदैलो र प्रचारप्रसार शान्तिपूर्ण रूपमा भइरहेको जियोकले जनाएको छ।
जियोकले ३६ जिल्लाका २५० स्थानीय तहमा ४०० जना निर्वाचन पर्यवेक्षक खटाएको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्