Skip to content

निर्वाचनमा पराजयपछि रास्वपा रुकुम पश्चिमका सभापति शाहीको राजीनामा

रुकुम पश्चिम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार समेत रहनुभएका शाहीले पार्टीलाई विजयी गराउन नसकेको जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिनुभएको हो।

सभापति शाहीले हारको सम्पूर्ण जिम्मेवारी स्वीकार गर्दै नैतिकताको आधारमा कर्णाली प्रदेश सभापतिसमक्ष राजीनामा बुझाएको जानकारी दिनुभयो। उहाँ रास्वपाको संस्थापक जिल्ला सभापति समेत हुनुहुन्छ।

जिल्ला सभापतिबाट राजीनामा दिए पनि आगामी दिनमा पार्टी निर्माणका लागि अझ सशक्त रूपमा लाग्ने शाहीले बताउनुभयो। रुकुम पश्चिमका सबै वडामा सङ्गठन विस्तार गर्दै आगामी निर्वाचनमा पहिलो दल बन्ने लक्ष्यका साथ निरन्तर खट्ने उहाँको भनाइ छ।

रुकुम पश्चिममा रास्वपाले प्रत्यक्षतर्फ ४ हजार ७६ र समानुपातिकतर्फ १० हजार १४९ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ उम्मेदवार रहनुभएका शाहीले नियमानुसार १० प्रतिशत मत ल्याउन नसक्दा उहाँको धरौटी समेत जफत भएको छ।

प्रतिक्रिया दिनुहोस्