Skip to content

लामो समयदेखि अधुरो रहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्ड अब कालोपत्रे गरिने

कालोपत्रेका लागि तयार गरिँदै अरनिको राजमार्ग अन्तर्गतकाे धुलिखेल–खावा सडक । तस्बिर : केदार तिमल्सिना

बनेपा – निर्माण व्यवसायीको लापरवाहीका कारण लामो समयदेखि अधुरो रहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेलखावा सडक खण्ड अब कालोपत्रे गरिने भएको छ । साढे तीन वर्षअघि सुरु गरिएको सडक विस्तारको काम निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पूरा हुन सकेको थिएन। तर सडक डिभिजन कार्यालय भक्तपुरसिएम-एवान-काली जेभी काठमाडौँबीच कात्तिक २४ गते नयाँ ठेक्का सम्झौता भएपछि कामले गति लिएको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार निर्माणाधीन सडकमा चैत ७ गतेदेखि कालोपत्रे सुरु गरिनेछ। कालोपत्रे सुरु भएसँगै चैत २० गतेसम्म उक्त सडक खण्डमा ट्रिपर सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सरोकारवालाको बैठकले सडक कालोपत्रे भइरहँदा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक बस, मालवाहक तथा चारपाङ्ग्रे सवारी साधन सञ्चालनमा समेत रोक लगाउने निर्णय गरेको छ।

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाँईले कालोपत्रे अवधिमा वैकल्पिक मार्गमा सवारी सञ्चालनको व्यवस्था मिलाउन नेपाल ट्राफिक प्रहरीलाई निर्देशन दिइएको जानकारी दिनुभयो। गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकमा पाँचखाल नगरपालिकामण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख, सुरक्षा निकायका प्रतिनिधि, सडक कार्यालयका अधिकारी, साइट इन्जिनियर तथा निर्माण व्यवसायीको सहभागिता रहेको थियो। डिभिजन प्रमुख सिडिई योगेशका अनुसार नयाँ ठेक्का सम्झौताअनुसार १४ महिनाभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। डिभिजन र सिएम–एवान–काली जेभीबीच ३१ करोड ५६ लाख रुपैयाँ लागतमा सम्झौता भएको हो।

सडक डिभिजनका अनुसार धुलिखेलदेखि खावासम्मको सडक सात मिटर चौडाइको हुनेछ। सडक कालोपत्रेसँगै पहिरो व्यवस्थापनका लागि स्वायल नेलिङ, जुट नेटिङ र सर्फेस ड्रेनेज जस्ता काम पनि गरिनेछ। साथै सडकको दीर्घकालीन दिगोपनाका लागि सिमेन्ट बेस समेत हालिने इन्जिनियर योगेशले बताउनुभयो। यसअघि गौरी पार्वती निर्माण सेवा प्रालिसँग २०७९ जेठ २० गते चार दशमलव १५५ किलोमिटर सडक विस्तार गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। तर पटक–पटक म्याद थप गर्दा पनि काम सन्तोषजनक नभएपछि डिभिजनले २०८१ फागुन १५ गते उक्त कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो।

प्रतिक्रिया दिनुहोस्