Skip to content

महाकाली नदीमा डुबेर बालक वेपत्ता

खलङ्गा (दार्चुला) – दार्चुलामा महाकाली नदीमा डुबेर एक बालक वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीका अनुसार व्यास गाउँपालिका–६ का करिब १५ वर्षीय धीरज धामी पौडी खेल्ने क्रममा नदीमा डुबेर वेपत्ता भएका हुन् ।

महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत धीरज सदरमुकाम खलङ्गामा कोठा भाडामा लिएर बस्दै आएका थिए । आज दिउँसो करिब १ बजेतिर साथीहरूसँग पौडी खेल्न गएका उनी महाकाली नगरपालिका–५ बसपार्क क्षेत्र नजिकैको महाकाली नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धीरजसँगै नदीमा गएका उनका दुई साथी भने सकुशल रहेका छन् । साथीहरूले दिएको जानकारीअनुसार धीरजलाई पौडी खेल्न राम्रोसँग आउँदैनथ्यो । उनीहरू पहिलो प्रयासमै जसोतसो पौडी खेलेर नदी पार गर्दै भारततर्फ पुगेका थिए । तर नेपालतर्फ फर्किने क्रममा नदीको बीच भागमा पुगेपछि धीरज डुबेका थिए । त्यसयता उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

हाल घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले वेपत्ता धीरजको खोजी कार्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्