Skip to content

इसराइली आक्रमणमा इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख मारिएको पुष्टि

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इसराइलको हमलमा उनी मारिएको इरान र इसराइल दुवै पक्षले पुष्टि गरेको हो  । लारिजानी मुलुकको सुरक्षा र रणानीति बनाउने निकाय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए। मंगलबार परिषद्ले विज्ञप्ती जारी गरी लारिजानीको मृत्यु भएको पुष्टि गरेको हो । यसअघि इसराइली रक्षामन्त्री इसराइल कात्जले इसराइली आक्रमणबाट लारिजानी मारिएको दाबी गरेका थिए । युद्ध सुरू भए यता इरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछि उच्च तहका व्यक्तिको हत्या भएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार सोमबार राति भएको आक्रमणमा लारिजानीसँगै उनका छोरा र उनका सहायक अलीरेजा बायात पनि मारिएका छन् । लारिजानी इरानको सत्ता संरचनाभित्र प्रभावशाली तथा व्यवहारिक नेताका रूपमा चिनिन्थे ।

इसराइलले इरानका अन्य सुरक्षा अधिकारीहरूलाई पनि निशाना बनाएको जनाएको छ । इरानी अर्धसैनिक बलका प्रमुख घोलामरेजा सोलेमानी पनि मारिएको बताइएको छ। इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ले थप आक्रमण जारी रहने संकेत दिएका छन् । तीन साताभन्दा बढी समयदेखि जारी अमेरिका–इजरायल युद्ध झन् क्षेत्रीय द्वन्द्वतर्फ फैलिँदै गएको छ । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेई ले युद्धविराम वा तनाव घटाउने प्रस्ताव अस्वीकार गरेको उच्च इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ। उनी इसराइल र अमेरिका पछि नहटेसम्म शान्ति सम्भव नहुने पक्षमा रहेको ती अधिकारीले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले भने सहयोगी देशहरूले पर्याप्त सैन्य साथ नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले नेटो सदस्य राष्ट्रहरू लगायत जापान, अस्ट्रेलिया र दक्षिण कोरियाको भूमिकाप्रति आलोचना गरेका छन्। यद्यपि धेरै पश्चिमी देशहरूले युद्धमा प्रत्यक्ष संलग्न हुन अस्वीकार गरेका छन् । यता, साँघुरो समुद्री मार्ग स्ट्रेट अफ हर्मुज लगभग बन्दजस्तै हुँदा विश्व तेल आपूर्तिमा असर परेको छ । विश्वभर आपूर्ति हुने तेलमध्ये २० प्रतिशतभन्दा बढी तेल यही मार्ग भएर जान्छ। युद्ध सुरु भएयता तेलको मूल्य करिब ४५ प्रतिशतले बढेको छ। इरानले अमेरिका र इसराइलसँग सम्बन्धित ट्यांकरहरूलाई निशाना बनाउने चेतावनी दिइरहेको छ ।

युरोपेली संघकी विदेश नीति प्रमुख काजा काल्लास ले जलडमरूमध्य खुला राख्न कूटनीतिक उपाय आवश्यक रहेको बताएकी छन् । स्थिति बिग्रिँदै गए खाद्य, मल र ऊर्जामा विश्वव्यापी संकट आउन सक्ने उनले बताएकी छन् । इरानले तेल उत्पादन केन्द्र तथा छिमेकी खाडी मुलुकहरूमा आक्रमण तीव्र बनाएको छ । इसराइलको व्यापारिक केन्द्र तेल अभिभ मा इरानी क्षेप्यास्त्र आक्रमण हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने युद्ध सुरु भएयता इजरायलमा मृतक संख्या १४ पुगेको छ । इरानले प्रतिशोधस्वरूप क्लस्टर हतियार प्रयोग गरेर आक्रमण गरेको दाबी गरेको छ, जसले ठूलो क्षेत्रमा क्षति पुर्‍याउने क्षमता राख्छ। निरन्तर बमबारीका बाबजुद इरानले लामो दूरीका आक्रमण गर्न सक्ने क्षमता देखाएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्