Skip to content

सुदूरपश्चिमले पायो २ जना मन्त्रि, रावल र चौधरी मन्त्री बन्दै

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता (बालेन्द्र) बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यस्तै बालेन नेतृत्वको सरकारमा सुदूरपश्चिमबाट दुई मन्त्री बन्ने भएका छन् । रास्वपाका अनुसार प्रतिभा रावल पनि मन्त्री बन्ने पक्का भएको छ । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने तयारी छ । प्रतिभा रावल रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा छिन् । उनी समानुपातिक निर्वाचन प्रणालीबाट कञ्चनपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

एक दशकभन्दा बढी समय पत्रकारिता गरेर राजनीतिमा लागेकी रावलको माइती घर कञ्चनपुर हो । रावलले रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा पनि काम गरिन् । रास्वपा गठन भएपछि केही महिनामै केन्द्रीय समिति बिस्तार भएको थियो । त्यही बेलादेखि उनी पनि प्रत्यक्ष रूपमा रास्वपासँग जोडिएकी हुन् ।

यस्तै, कञ्चनपुरकी गीता चौधरीको नाम पनि कृषिमन्त्रीमा लगभग निश्चित भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की ३३ वर्षीय गीता चौधरी अधिवक्ता हुन्। उनी पनि समानुपातिकबाट निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्