Skip to content

खेलकुद राष्ट्रको शान र पहिचान : मुख्यमन्त्री बानियाँ

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले खेलकुद र खेलाडी राष्ट्रको गहना मात्र नभई देशको शान र पहिचान भएको बताउनुभएको छ ।

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोस्रो महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले उक्त कुरा बताउनुभएको हो । पुनः सर्वसम्मत अध्यक्ष निर्वाचित केशव पुरीलगायत नयाँ कार्यसमितिलाई बधाई दिँदै उहाँले तेक्वान्दोको विकासका लागि प्रदेश सरकारले पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हिजो खेल र खेलाडीलाई गहना मात्र भनिन्थ्यो, तर अब खेल शान र पहिचान देखाउने माध्यम बनेको छ,” उहाँले बताउनुभयो ।

सम्बोधनका क्रममा मुख्यमन्त्री बानियाँले तेक्वान्दो खेलको पूर्वाधार तथा आवश्यक सामग्री (इक्विपमेन्ट) खरिदका लागि बजेट वृद्धि गर्ने महत्वपूर्ण घोषणा गर्नुभयो । यसअघि विनियोजित २० लाख रुपैयाँलाई बढाएर यसै वर्ष ६० लाख रुपैयाँ पुर्‍याउने प्रतिबद्धता उहाँले जनाउनुभयो । आगामी दिनमा संघले गर्ने थप गतिविधि र योजनाका आधारमा बजेट बढाउँदै लैजाने उहाँको भनाइ थियो । बागमती प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राख्दै नयाँ वर्षको सुरुवातसँगै ‘बागमती प्रदेश खेल महोत्सव’ आयोजना गर्न लागेको जानकारी उहाँले दिनुभयो । हेटौंडा, ललितपुर र काठमाडौंको दशरथ रंगशालामा सञ्चालन हुने गरी बजेट स्वीकृत भई काम अगाडि बढिसकेको उहाँले बताउनुभयो । प्रदेशस्तरीय खेलकुदपछि सातै प्रदेशका खेलाडी समेटेर ‘अन्तरप्रदेश स्तरीय खेल महोत्सव’ समेत आयोजना गरिने योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको अवस्था परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले प्रदेशका १३ वटै जिल्लाका अस्पतालमा डायलासिस र मिर्गौला प्रत्यारोपणजस्ता जटिल सेवा निःशुल्क गर्ने गरी सरकार अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले खेलकुद पर्यटनलाई पनि सँगसँगै लैजाने लक्ष्य राखेका छौं । संघीय सरकारले पनि युवाहरूको चाहनाअनुसार खेल, शिक्षा र रोजगारीका अवसर सिर्जना गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्