Skip to content

१४ वर्षपछि ओपनिङ जित : मुम्बईले केकेआरलाई ६ विकेटले हरायो

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै १४ वर्षदेखि जारी ओपनिङ खेलको हारको श्रृंखला अन्त्य गरेको छ । वानखेडे रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ४ विकेट गुमाउँदै २२० रन बनाएको थियो। जवाफमा मुम्बईले १९.१ ओभरमा ४ विकेट गुमाएर २२४ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो । मुम्बईको जितमा रोहित शर्मा र रेयान रिकेल्टनबीचको १४८ रनको उत्कृष्ट ओपनिङ साझेदारी निर्णायक बन्यो । रोहितले ३८ बलमा ६ चौका र ६ छक्का सहित ७८ रन बनाए। उनले २३ बलमै अर्धशतक पूरा गर्दै आफ्नो आईपीएल करिअरकै सबैभन्दा छिटो अर्धशतक बनाएका हुन् ।

रिकेल्टनले ४३ बलमा ८ छक्का र ४ चौका सहित ८१ रनको आक्रामक पारी खेले। त्यसपछि सूर्यकुमार यादव (१६), तिलक वर्मा (२०) र हार्दिक पाण्ड्या (१८) ले योगदान दिँदै टोलीलाई जितसम्म पुर्‍याए । यसअघि केकेआरका लागि अजिंक्य रहाणेले ४० बलमा ६७ रन बनाए भने अंगकृष रघुवंशीले २९ बलमा ५१ रन जोडे । फिन एलनले १७ बलमा ३७ रन बनाउँदै तीव्र सुरुआत दिलाएका थिए भने अन्त्यतिर रिंकू सिंहले ३३ रन थपेका थिए । बलिङतर्फ मुम्बईका शार्दुल ठाकुरले ३ विकेट लिए भने हार्दिक पाण्ड्याले १ विकेट लिए । केकेआरका सुनील नारायण, वैभव अरोरा र कार्तिक त्यागीले समान १–१ विकेट लिए । यस जितसँगै मुम्बईले नयाँ सिजनमा सुखद सुरुआत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्