Skip to content

ट्रम्पले इरानलाई दिए ४८ घन्टाको अल्टिमेटम, हर्मुज नखोले ‘नर्क बर्सिने’ चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई फेरि ४८ घन्टाको अल्टिमेटम दिएका छन् । शुक्रबार इरानले आफ्नो भूमिमा अमेरिकी एफ–१५ई स्ट्राइक इगल लडाकू विमान खसालेपछि ट्रम्पले ४८ घन्टाको अल्टिमेटम दिएर स्ट्रेट अफ हर्मुज खुला गर्न भनेका हुन् । उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक बेपत्ता छन्। खोजीका लागि गएको अमेरिकी सेनाको हेलिकप्टरमा पनि इरानी हमला भएको थियो । घटनापछि शनिबार आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमा पोस्ट लेख्दै ट्रम्पले इरानलाई ४८ घन्टाभित्र हर्मुज नखोले उनीहरूमाथि ‘नर्क बर्सिने’ चेतावनी दिएका छन् । ‘मैले उनीहरूलाई सम्झौताका लागि १० दिनको समय दिएको थिएँ । त्यो समय घर्कँदै छ । ४८ घन्टाभित्र सम्झौताका लागि तयार भएनन् भने उनीहरूमाथि भयानक हमला हुनेछ,’ ट्रम्पले भनेका छन् ।

इरान युद्ध सुरू भएको फेब्रुअरी २८ यता ट्रम्पले पटकपटक सम्झौताका लागि अल्टिमेटम दिँदै आएको छ। त्यसका बाबजुद पनि सम्झौता हुन सकेको छैन । उनले सुरुमा ४८ घण्टे अल्टिमेटम दिएका उनले वार्ता सकारात्मक भइरहेको दाबी गर्दै समयसीमा पटक–पटक थप्दै अन्ततः अप्रिल ६ सम्मको म्याद तय गरेका छन् । उनले इरानले नमान्ने अवस्थामा त्यहाँका ऊर्जा संरचनामाथि आक्रमण गर्न सकिने चेतावनी समेत दिएका छन् ।

ट्रम्पको अल्टिमेटममा इरानले पनि जबाफ दिएको छ । इरानी सेनाका कमान्डर मेजर जनरल अली अबदोल्लाही अलीबादीले अमेरिका तनाव बढाउन चाहन्छ भने नर्कको ढोका खुला रहेको भनेर चेतावनी दिएका छन् । सैनिक मुख्यालका प्रवक्ता इब्राहित जोल्फगरीले पनि इरान अमेरिकाका लागि ‘नर्क’ हुने चेतावनी दिएका छन् । ‘शत्रुता थप बढाउन चाहनुभयो भने इरान तपाईंका लागि नर्क हुनेछ। इस्लामिक गणतन्त्रलाई हराउने भ्रम एउटा दलदलमा परिणत भएको छ जसले तपाईंलाई निल्नेछ,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्