Skip to content

‘महिला आन्दोलनको सहखोजी: सन्धान सङ्ग्रह’को दोस्रो संस्करण प्रकाशित

काठमाडौँ – महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी: सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।

द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशित पुस्तकको विमोचन त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा.डा. दुबीनन्द ढकाल, द स्टोरी किचेनका अध्यक्ष डा. जया लुईंटेल, कार्यकारी सदस्य निर्मला ज्ञवाली, विमोचन सम्पादक तथा मेन्टर डा. हरिकला अधिकारी, लैङ्गिक अध्ययन विभागकी प्रमुख जमुना शिवाकोटी, सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की तथा फेलो–लेखकहरूले संयुक्त रूपमा गरे । पुस्तकमा नेपालका महिला तथा महिलाभित्रका विविध समुदायका अनुभव, भोगाइ, संघर्ष र राजनीतिक तथा सामाजिक आन्दोलनमा उनीहरूले गरेको योगदान समेटिएको छ । पुस्तकमा २५ जना फेलो÷लेखकका आलेख समावेश छन् ।

आलेखहरूमा महिलाभित्रको विविधताका साथै दलित तथा आदिवासी जनजाति समुदायका अपाङ्गता भएका महिलाले भोगिरहेका बहुस्तरीय विभेद र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवाललाई समेटिएको छ । पुस्तकको समीक्षा गर्दै त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुन्दन अर्यालले नेपाली महिला आन्दोलनका लागि पुस्तक महत्त्वपूर्ण रहेको बताए । उनले नेपाली समाजभित्रका वैकल्पिक विषय पहिचान गरी उठान गरिएको बताए । केही आलेख निकै सशक्त रहेको उल्लेख गर्दै अर्यालले पुस्तक नेपाली महिला आन्दोलन तथा समाजका अध्येताका लागि सन्दर्भ सामग्री बन्ने बताए ।

अर्का समीक्षक समाजशास्त्री डा. मीना पौडेलले एउटै वर्ग र उस्तै इतिहास लेखन भइरहेको सन्दर्भमा पुस्तक इतिहास लेखनको वैकल्पिक यात्रा भएको बताइन् । परम्परागत अनुसन्धान विधिले तथ्याङ्कमा केन्द्रित भएर गरिने अनुसन्धानभन्दा महिलावादी अनुसन्धान विधि फरक रहेको उनले बताइन् । महिलावादी अनुसन्धान विधिमार्फत सामाजिक न्यायको लेखन पुस्तकमा समेटिएको बताउँदै पौडेलले सन्धान फेलोहरूले गरेको अनुसन्धान प्राज्ञिक उद्देश्यले वा प्राज्ञहरूले गरेको नभए पनि प्राज्ञिक ज्ञान निर्माणका लागि महत्त्वपूर्ण आधार बन्ने बताइन् ।

कार्यक्रममा ‘पुस्तान्तरण, विविधता र समावेशिताको दृष्टिकोणबाट पुस्तकको महत्त्व’ विषयमा युवा अधिवक्ता तथा अभियन्ता कुन्जनी परियार, महिला मानवअधिकारकर्मी श्यामकुमारी साह र जेनजी अभियन्ता मोनिको निरौलाले धारणा राखेका थिए । उनीहरूले पुस्तकले विविधताका सवाललाई महत्त्वका साथ समेटेको बताए । कार्यक्रमका प्रमुख अतिथि डिन प्रा.डा. दुबीनन्द ढकालले पुस्तकमा उल्लेखित विषयमार्फत समाजमा बाहिर नआएका धेरै विषय खोतलिएको बताए । महिलाका वास्तविक अनुभव र भोगाइलाई समेटेर त्यसको सैद्धान्तीकरण गर्न पुस्तक आधार बन्न सक्ने उनले बताए ।

सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले पुस्तकको बाहिरी पृष्ठमा औँठाछाप प्रयोग गर्नुको अर्थ महत्त्वपूर्ण रहेको बताए । हरेक व्यक्तिको औँठाछाप फरक हुने भएकाले त्यसले आफ्नै पहिचानको सन्देश दिने उनले बताए । पुस्तकले पनि हरेक महिलाको आफ्नै पहिचान हुनुपर्ने आशय प्रस्तुत गरेको उनको भनाइ थियो । द स्टोरी किचेनकी अध्यक्ष डा. जया लुईंटेलले सन्धानले इतिहास पत्रकारिता लेखनको काम सुरु गरेको बताइन् । अहिले इतिहासको खोजी गर्न आँखीझ्याल खोल्ने काम सुरु भएको उनले बताइन् ।

नेपाली महिला तथा आमा–हजुरआमाका जीवनभोगाइ, संघर्ष र अनुभवबाट प्राप्त ज्ञानलाई पनि प्राज्ञिक ज्ञान बनाउनुपर्ने उद्देश्यले विश्वविद्यालयसँग सहकार्य गरिरहेको लुईंटेलले बताइन् । द स्टोरी किचेनकी कार्यकारी सदस्य निर्मला ज्ञवालीले फेलोसिपको सुरुवातदेखि पुस्तक प्रकाशनसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । त्रिवि लैङ्गिक अध्ययन केन्द्रीय विभागकी प्रमुख जमुना शिवाकोटीले विभागले विगत ७–८ वर्षदेखि यस प्रकारका काममा सहकार्य गर्दै आएको बताइन् । आगामी दिनमा पनि यस्तो सहकार्यलाई निरन्तरता दिइने उनले बताइन् । द स्टोरी किचेनका कार्यक्रम तथा कार्यालय प्रमुख गार्डिका बज्राचार्यले नेपाली महिलाका वास्तविक भोगाइ तथा सामाजिक–राजनीतिक परिवर्तनमा महिलाको योगदान र भूमिका सशक्त भए पनि इतिहासका औपचारिक दस्तावेजमा त्यसलाई सहायक भूमिकामा मात्रै उल्लेख गरिएको बताइन् ।

अनदेखा गरिएका महिलाका भोगाइ, संघर्ष र ज्ञानलाई अभिलेख गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको उनले बताइन् । पुस्तक सार्वजनिक कार्यक्रम मात्रै नभई नेपालका विविध महिला आन्दोलन, संघर्ष, नेतृत्व, योगदान, अनुभव र ज्ञानलाई सहखोजी तथा सहलेखनमार्फत दस्तावेजीकरण गर्ने सामूहिक प्रयासको उत्सव भएको बज्राचार्यको भनाइ थियो । ‘सन्धान’ द स्टोरी किचेनले सुरु गरेको महिलावादी अनलाइन पोर्टल हो । द स्टोरी किचेनले सन् २०२२ देखि हरेक वर्ष पत्रकार, लेखक तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘सन्धान फेलोसिप’ प्रदान गर्दै आएको छ । फेलोसिपअन्तर्गत पहिलो र दोस्रो ब्याचका २१ जना फेलो लेखकले लेखेका आलेखको संग्रह ‘महिला आन्दोलनको सहखोजी सन्धान सङ्ग्रह शृङ्खला–१’ सन् २०२४ मा प्रकाशन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्