Skip to content

२९ वर्ष शिक्षा क्षेत्रमा बिताएका पाण्डव हमाल अब धनगढीमाईको मेयर बन्ने दौडमा

Nepal Bank

काठमाडौँ – सिरहाको धनगढीमाई नगरपालिकाको मेयर बन्ने दौडमा पाण्डव हमाल ठकुरी अघि सरेका छन् । लामो समय शिक्षा क्षेत्रमा बिताएका राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) का निवर्तमान केन्द्रीय अध्यक्ष हमालले आगामी स्थानीय तह निर्वाचनमा धनगढीमाईको नेतृत्व गर्ने आकांक्षा सार्वजनिक गरेका हुन् ।

धनगढीमाई नगरपालिका–१२ मा जन्मिएका हमाल नेकपा एमालेमा प्रवेश गरेसँगै स्थानीय राजनीतिमा सक्रिय भएका छन् । एमालेको राष्ट्रिय भेलाका अवसरमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा र माला लगाएर उनलाई पार्टीमा स्वागत गरेका हुन् । लहानमा विगत २९ वर्षदेखि एलएमसी माध्यमिक विद्यालय तथा कलेजको सञ्चालक अध्यक्षका रूपमा कार्यरत हमालले लामो समय शिक्षा र समाजसेवामा बिताएका छन् । निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सनको राष्ट्रिय अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका उनी अब आफ्नो जन्मभूमिको विकास र नेतृत्वका लागि राजनीतिक मैदानमा उत्रिने तयारीमा छन् । हमालले पार्टीका अग्रज नेताहरूले अवसर दिए आगामी स्थानीय तह निर्वाचनमा मेयर पदका लागि सशक्त रूपमा अघि बढ्ने बताएका छन् । “लामो समयदेखि शिक्षा क्षेत्रमा लाग्दै निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सनको राष्ट्रिय अध्यक्षको भूमिका निर्वाह गरिसकेपछि अब समाज र आफ्नो ठाउँका लागि केही गरौँ भन्ने मनमा थियो । अब स्थानीय तह निर्वाचनमा पार्टीका अग्रज नेताहरूले आफूलाई सेवक बनेर काम गर्ने मौका दिएमा स्थानीय निर्वाचनमा आफू सशक्त रूपमा अघि बढ्ने सोचमा छु,” उनले भने ।

२९ वर्षको शैक्षिक अनुभवपछि स्थानीय नेतृत्वमा आउने चाहना व्यक्त गरेका हमालको एमाले प्रवेशलाई धनगढीमाईको आगामी निर्वाचनसँग जोडेर हेरिएको छ । पार्टीभित्र उम्मेदवारीको अवसर पाए आफू मेयरको प्रतिस्पर्धामा उत्रिने उनको संकेतले नगरको राजनीतिक वृत्तमा नयाँ चासो थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्