Skip to content

देउवा पक्षलाई कांग्रेसमै फर्किन विश्वप्रकाशको आग्रह गर्दै भने – ‘यहाँ कांग्रेसको होइन, प्रश्न देशको छ’

Nepal Bank

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शर्माले प्रतिक्रिया दिएर मात्र समस्या समाधान नहुने भन्दै पार्टीभित्रै कमजोरीको गम्भीर समीक्षा गर्न र सबैलाई मूल बाटोमा फर्किन आग्रह गरेका हुन् ।

उनले विधि, विधान, पद्धति, प्रवृत्ति, प्रक्रिया, परिस्थिति, मनस्थिति र समय नै अहिलेको मुख्य प्रश्न भएको उल्लेख गरेका छन् । ‘अब कोही नअल्मलिऔँ, सबै जुटौँ मूल बाटोमा ! हामी जसको जे कमजोरी भयो, त्यसको गम्भीर समीक्षा घरभित्रै गरौँ । मन माझौँ– घरभित्रै । मन जोडौँ– घरभित्रै,’ शर्माले लेखेका छन् । उनले अहिलेको विषय नेपाली कांग्रेसको मात्र नभई देशकै भएको जिकिर गर्दै सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन् । ‘आखिर हामी सबै जान्दछौँ– प्रश्न यहाँ कांग्रेसको होइन, प्रश्न देशको छ,’ उनले लेखेका छन् । कांग्रेसभित्रको आन्तरिक विवादबिच शर्माको यस्तो आग्रह आएको हो । पार्टीको देउवा पक्षले यही मंसिर २१, २२ र २३ गते काठमाडौँमा महाधिवेशन गर्ने तयारी गरेको छ । त्यसअघि शर्माले देउवा पक्षमा रहेका नेता तथा कार्यकर्तालाई कांग्रेसभित्रै फर्किएर एकताबद्ध हुन आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्