Skip to content

जेनजी आन्दोलनका घाइते शान्तनुको उपचार र पुनर्स्थापनामा सरकारको चासो

Nepal Bank

काठमाडौं – जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिन दुई मन्त्री अस्पताल पुगेका छन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मंगलबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर ढकालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

अस्पतालमा उपचाररत ढकालसँग प्रत्यक्ष भेट गरेका मन्त्रीहरूले उनको उपचारको प्रगति, आगामी उपचारका आवश्यकता र स्वास्थ्य अवस्थाबारे चिकित्सक तथा परिवारसँग जानकारी लिएका थिए । उनीहरूले शान्तनुका बुबासँग पनि भेट गरी उपचारका क्रममा परिवारले भोग्नुपरेका समस्या, आर्थिक तथा सामाजिक अवस्था र आवश्यकताबारे छलफल गरेका थिए । भेटका क्रममा मन्त्री बादीले शान्तनुको उपचारसँगै आगामी जीवन र परिवारको भविष्यलाई समेत सरकारले जिम्मेवारीका रूपमा लिने बताइन्। उपचारपछिको पुनर्स्थापना, परिवारको रोजगारी, शिक्षाको निरन्तरता र आधारभूत आवश्यकताका विषयमा मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने उनको भनाइ थियो ।

त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताले शान्तनुको उपचारमा देखिन सक्ने स्वास्थ्य जटिलता, थप शल्यक्रिया तथा अन्य उपचारका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने बताइन् । उपचार प्रक्रियालाई प्रभावकारी बनाउन सम्बन्धित स्वास्थ्य संस्था र चिकित्सकसँग समन्वय गरिने उनले उल्लेख गरिन् । दुवै मन्त्रीले शान्तनुको अवस्थालाई उपचारमा मात्र सीमित नराखी स्वास्थ्योपचारपछि सम्मानजनक जीवनयापन, सामाजिक पुनर्स्थापना, शिक्षा र आर्थिक आत्मनिर्भरतासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।कठिन परिस्थितिबाट गुज्रिएका नागरिक र परिवारलाई पुनः सामान्य जीवनमा फर्कन आवश्यक आधार तयार गर्नु पनि राज्यको दायित्व भएको उल्लेख गर्दै मन्त्रीहरूले यसका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्