काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले प्रदेशभर विजय उत्सव मनाउने भएको छ । उपाधि जितेको खुसी समर्थकसँग साट्न रोयल्सले आगामी मंसिर १३ गतेदेखि ट्रफी टूर सञ्चालन गर्ने तयारी गरेको हो ।
एक साता लामो कार्यक्रम तय गर्दै सुदूरपश्चिमका नौ जिल्लामै ट्रफी टूर गरिने रोयल्सले जनाएको छ । सुरुमा प्रदेशका पहाडी जिल्लामा ट्रफी टूर गर्दै उत्सव मनाइने छ। त्यसपछि कैलाली र कञ्चनपुरमा टूर सञ्चालन गरिने सुदूरपश्चिम रोयल्सले जनाएको छ । पहाडी जिल्लाबाट सुरु हुने ट्रफी टूरको अन्तिम कार्यक्रम धनगढीमा आयोजना हुनेछ ।
प्रदेशका सबै जिल्लाका समर्थक, क्रिकेटप्रेमी तथा सर्वसाधारणलाई ऐतिहासिक जितको उत्सवमा सहभागी गराउने उद्देश्यले ट्रफी टूर आयोजना गर्न लागिएको रोयल्सले जनाएको छ। ट्रफी टूरको विस्तृत कार्यतालिका आज साँझसम्म सार्वजनिक गर्ने तयारी छ । कुन जिल्लाको कुन स्थानमा ट्रफी प्रदर्शन गर्ने र कुन दिन कहाँ कार्यक्रम आयोजना गर्ने भन्ने विवरणसहितको तालिका सार्वजनिक गरिनेछ । सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक उपाधि जितेको हो । यसअघि प्रतियोगिताका दुई संस्करणमा पनि फाइनलसम्म पुगेको रोयल्स दुवैपटक उपविजेतामै सीमित भएको थियो । तेस्रो प्रयासमा भने उपाधि जित्दै टोलीले सुदूरपश्चिमको क्रिकेट इतिहासमा नयाँ उपलब्धि थपेको छ ।



प्रतिक्रिया दिनुहोस्