काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई पक्राउ गर्न आउने हो भने हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन् । मंगलबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै सभापति थापाले सरकारको आलोचना गरेकै आधारमा पक्राउ गर्ने वा तर्साउने प्रयास स्वीकार्य नहुने बताएका हुन् । ‘साथीहरूले पक्राउ गर्ला भन्नुहुन्छ, मैले ती साथीहरूलाई भनेको छु– खाली हात चाहिँ नआउनू, हतकडी लिएर आउनू । खाली हात चाहिँ जान्नँ, यत्ति कुरा हो,’ थापाले भने । उनले नेपाली कांग्रेस कुनै पनि अनुसन्धानको विपक्षमा नरहेको स्पष्ट पारे । आफ्नो वा अन्य कुनै व्यक्तिको विषयमा अनुसन्धान गर्नुपर्ने भए कानुनअनुसार हुनुपर्ने उनको भनाइ थियो । तर, राज्यका संयन्त्रको दुरुपयोग भएको अवस्थामा कांग्रेसले प्रश्न उठाउने र जवाफ खोज्ने उनले बताए ।
‘कांग्रेस कुनै पनि अनुसन्धानमा अवरोध गर्दैन । मेरो होला, अरूको होला, जोसुकैको होला । कानुनले जहाँ अनुसन्धान गर्नुपर्छ भन्छ, त्यहाँ अनुसन्धान हुन्छ । तर राज्यका संयन्त्र दुरुपयोग भएका ठाउँमा हाम्रो प्रश्न रहन्छ, हामी जवाफ खोज्छौँ,’ उनले भने । राज्यका संयन्त्रलाई निजी कम्पनीजस्तो सञ्चालन गर्न खोजिए कांग्रेसले विरोध गर्ने थापाले बताए । सत्य, न्याय र कर्मको पक्षमा कांग्रेस उभिने उल्लेख गर्दै उनले सरकारलाई सरकारजस्तो र प्रतिपक्षलाई प्रतिपक्षजस्तो भएर अघि बढ्न सुझाव दिए । सरकारका राम्रा काममा कांग्रेसको सहयोग रहने पनि उनले स्पष्ट पारे । सरकारको आलोचना गर्दा अप्ठ्यारो पर्न सक्ने भन्दै कतिपय नेताले चिन्ता व्यक्त गर्ने गरेको प्रसंग उल्लेख गर्दै थापाले विगतका राजनीतिक घटनाक्रम स्मरण गरे । राजाको शासनकालमा प्रश्न उठाएकै कारण आफूले राजद्रोहको मुद्दा खेप्नुपरेको उनले बताए ।
त्यस्तै, माओवादी द्वन्द्वकालमा लमजुङमा आयोजित कार्यक्रममा तत्कालीन वाईसीएललाई प्रश्न गरेको प्रसंग पनि उनले स्मरण गरे । त्यसबेला वाईसीएलले राप्रपाका नेतामाथि बीच सडकमा कुटपिटको प्रयास गरेको उनको भनाइ थियो । केपी शर्मा ओली शक्तिशाली भएका बेला पनि आफूले प्रश्न उठाउँदै आएको उनले बताए । पछिल्लो समय सामाजिक सञ्जालमार्फत आफूलाई तर्साउने र अलमल्याउने प्रयास भइरहेको उल्लेख गर्दै थापाले त्यसबाट विचलित नहुने बताए । सभापति बनेपछि आफूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँच पटक भेटवार्ता गरेको जानकारी दिँदै उनले प्रदेश सरकार र मधेस प्रदेशको राजनीतिक अवस्थाबारे छलफल भएको बताए । मधेसमा दलहरूबीच सहकार्यको सम्भावनाबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समेत भेटवार्ता गरेको उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्