मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा जिप दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ ।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप आज (बिहीबार) बिहान करिब ८ः३५ बजेतिर घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा रौतहट चन्द्रनिगाहपुर नगरपालिका–४ बस्ने २५ वर्षीय अनुसा लामा, २२ वर्षीय जेशिका भन्ने अस्मिता तिमल्सिना र ३ बस्ने बस्ने ५० वर्षीय बमबहादुर वाईबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ ।
दुर्घटनामा सुमो चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–४ बस्ने ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रनिगाहपुर नगरपालिका–३ बस्ने १६ वर्षीय निमा थिङ, ५८ वर्षीय कान्छा धोज थिङ, १५ वर्षीय सुमिना थिङ, १६ वर्षीय सिखा लामा, ५५ वर्षीय हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर घाइते हुनुभएको छ ।
घाइतेहरूको ढाड, काध, हात, करङ, टाउको चोट लागेको छ । उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरी चौकी भैँसेबाट ट्राफिकसहित चार जना, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० जना, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रमेश विष्टको कमान्डमा सात जना र इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमान्डमा छ जना गरी २७ जना प्रहरी उद्धारमा खटिएका थिए ।



प्रतिक्रिया दिनुहोस्