सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बडूले पुल सञ्चालनमा आएसँगै ऐतिहासिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका दुई देशका नागरिकलाई आफ्नै सवारीसाधनमार्फत प्रत्यक्ष आवतजावत गर्न सहज हुने बताएका छन् ।
उनले पुल सञ्चालनले नेपाल र भारतबीचको उद्योग तथा व्यापार प्रवर्द्धनमा योगदान पुर्याउनुका साथै नेपाल, भारत र चीनबीचको त्रिदेशीय व्यापारमा समेत प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेका छन् । यद्यपि, पुलबाट अपेक्षित लाभ लिन दार्चुला, बैतडी र बझाङ जोड्ने सडकको स्तरोन्नति आवश्यक रहेको उनको भनाइ छ । त्यसैगरी, दार्चुला–तिंकर नाका जोड्ने सडक र दार्चुलाबाट कञ्चनपुरको दोधारा–चाँदनीस्थित सुख्खा बन्दरगाहसम्म पुग्ने छोटो दूरीको सडक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने उनले बताएका छन् । यी पूर्वाधार निर्माण गर्न सके मात्रै पुलबाट अपेक्षा गरिएका उपलब्धि हासिल गर्न सकिने बडूको विश्वास छ । पुल उद्घाटनको सुखद अवसरमा उनले नेपाल र भारतका दुवै प्रधानमन्त्रीलाई व्यक्तिगत तथा दार्चुलावासीका तर्फबाट आभारसहित धन्यवाद व्यक्त गर्दै नेपाल–भारत सम्बन्ध दीर्घकालसम्म प्रगाढ रहोस् भन्ने कामना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्