दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मडस्थित प्रसिद्ध राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुनमा आज कात्तिक शुक्ल चतुर्दशीका अवसरमा यस क्षेत्रकै ठूलो र प्रसिद्ध रात्रिकालीन धार्मिक जात्रा लाग्दैछ। जात्रालाई लक्षित गर्दै मन्दिर तथा आसपासका क्षेत्रमा भक्तजन र दर्शनार्थीको चहलपहल बढेको छ ।
मालिकार्जुन जात्रामा दार्चुला, बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै छिमेकी भारतको उत्तराखण्डबाट समेत हजारौँ श्रद्धालु सहभागी हुने गर्दछन् । जात्राको तयारी मन्दिर व्यवस्थापन समितिले एक साताअघिदेखि नै सुरु गरेको थियो। शनिबारदेखि नै मन्दिरमा भक्तजनको भीड लाग्न थालेको छ भने आज बिहानैदेखि दर्शनार्थी आउने क्रम जारी छ। कात्तिक शुक्ल त्रयोदशीका दिन शैल्यशिखर धाममा शिखर पूजन जात्रा सम्पन्न भएपछि प्रत्येक वर्ष चतुर्दशीका दिन मडस्थित मालिकार्जुन मन्दिरमा रात्रिकालीन जात्रा लाग्ने परम्परा छ । दमाहा बाजासहित हजारौँ भक्तजनको सहभागिता रहने यस जात्रालाई सुदूरपश्चिमकै प्रमुख धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा लिइन्छ ।
जात्रालाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला सुरक्षा समिति, मन्दिर व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायले विशेष तयारी गरेका छन् । जात्रालाई लक्षित गर्दै मदिराको बिक्रीवितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। मदिरा र अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले एक साताअघिदेखि नै चेकजाँच तथा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जात्रा क्षेत्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको जात्रालाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए । उनका अनुसार जात्राका दिन आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने, मदिरा तथा जुवातासजस्ता गतिविधि नियन्त्रण गर्ने र आज राति १२ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ ।
मालिकार्जुन मन्दिरमा श्रद्धापूर्वक दर्शन तथा पूजाआजा गरे पुण्य प्राप्त हुने, मनोकामना पूरा हुने र विशेषगरी निःसन्तान दम्पतीलाई सन्तान सुख प्राप्त हुने धार्मिक जनविश्वास छ । यही आस्थाका कारण दार्चुलासहित सुदूरपश्चिमका विभिन्न जिल्ला तथा भारतको उत्तराखण्डबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु मालिकार्जुन धाम पुग्ने गर्दछन् ।
मालिकार्जुनको मुख्य जात्रासँगै लेकम क्षेत्रका विभिन्न शक्तिपीठमा पनि आज रातभर जात्रा लाग्ने परम्परा छ। लेकम गाउँपालिका–५ मैखोली, वडा नम्बर ६ उचाकोट र वडा नम्बर २ गराडीलगायत स्थानमा रहेका देवीदेवताका मन्दिरमा रात्रिकालीन जात्रा आयोजना हुँदैछन् ।दार्चुलाको लेकम क्षेत्रमा द्वितीया तिथिदेखि सुरु हुने जात्रा पूर्णिमासम्म सञ्चालन हुन्छन् । लेकम गाउँपालिकाका पाती, कुणीलगायत स्थानमा पूर्णिमाका दिन अन्तिम जात्रा लाग्ने गर्दछ। यस क्षेत्रमा दसैँ–तिहारभन्दा पनि जात्रालाई विशेष महत्त्व र उत्साहका साथ मनाउने मौलिक परम्परा रहिआएको छ । धार्मिक आस्था, मौलिक संस्कृति र परम्पराको प्रतीकका रूपमा रहेको मालिकार्जुन रात्रिकालीन जात्रामा सहभागी हुन टाढाटाढाबाट भक्तजन आउने क्रम जारी रहेकाले मन्दिर तथा आसपासका क्षेत्रमा रौनक बढेको छ । जात्रालाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले जारी गरेका सुरक्षा तथा व्यवस्थापनसम्बन्धी निर्णय पालना गर्न श्रद्धालु भक्तजनलाई आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्